![]() |
पहाडको दुर्गम गाउँमा जन्मे हुर्केका भूमिविहीन पुड्के र पातली सारै जाँगरिला दम्पती थिए । बनीबुतो गरी सिस्नुलाई दाउन जुटाउनु उनीहरूको दैनिकी थियो ।
एकदिन चतुरे, घैँटे र चतुरभुज मुखिया उनीहरूको झुप्रोमा पुगे । अगिपछि त्यो बाटो हिँड्दा समेत झुप्रो गनाउँछ झैँ गरी तर्केर फटाफट बाटो काट्ने ती तीन सुकुमारहरूलाई आज आफ्नो आँगनमा देख्न पाउँदा पातलीलाई देउता झुल्के झैँ लाग्यो । उसले सर्माउँदै भनी “कति कामले पाल्नु भा’थ्यो साबहरू ? पिर्कामाथि राज होस् हजुर ।”
पुड्के दश औँला जोडेर, “जदौ साब !” भन्दै भुईँमा निधार ठोकेर निउँरियो । ती तीन सुकुमारले हतारोमै भने, “भो ! भो ! पुड्के । धेरै बिन्ती बिसाम्नु परेओ छैन । अब तिमीहरूका दुःखका दिन गए । ”
मुखियाको एस्तो कुरो सुनेर पुड्केले फुरुङ्ग पर्दै पातलीलाई पुलुक्क हेर्यो । पातलीले पनि काँपेको स्वरमा ती सुुकुमार सामु आफ्नो शिर उठाएर सोधी, ”कसरी गए साब हाम्रा दुःखका दिन ? झुप्राँ– माकुराको जालोबाहेक केही छैन । अगेनो चिसो छ । ”
मुखिया – सुन पातली, अब देसाँ गणतन्त्र आम्दैछ । बरु तिमरु पनि हाम्लाई साथ देओ । हिँड हाम्रा पछाडि लागेर । अनि त जमिन नहुनेलाई जमिन । घर नहुनेलाई घर । बेरोजगारलाई रोजगार । निरक्षरलाई शिक्षा । पिडितहरूलाई न्याय । वृद्ध–वृद्धालाई भत्ता । अपाङ्गलाई संरक्षणसहित गाँस, बास र कपासको व्यवस्था । कृषकलाई साथ–सहयोग । गाउँ–गाउँमा स्वास्थ्य, शिक्षा, यातायात, पानी र विजुलीको सुविधा हँ, के खोज्छौे त्याँ भन्दा ?
पातली र पुड्के छक्क परे । उनीहरूलाई गणतन्त्र कुन चराको नाम हो ? थाहै थिएन । तैपनि केले छाक टारुँ भनेका ती दम्पतीमा उत्साह पलायो । उनीहरू आँखा चिम्लेर होमिए जन आन्दोलनमा ।
युद्धकालमै पुड्केले आफ्नो ज्यान गुमायो । आन्दोलनकै क्रममा आफ्नो दाहिने खुट्ठो गुमाएकी पातली, पुड्केले ज्यान गुमाउँदा गर्भवती थिई । गाँस, बास र कपासको सपना देखेर आन्दोलनमा होमिएकी पातलीको जीवनमा झनै ठूलो तुफान आएको थियो । उता चतुरे, घैँटे र मुखियाहरूले अबिर–मालाको भारी बोकेर गणतन्त्रको विजयी जुलुस निकाल्दै थिए । पातली मरन्च्याँसे टुहुरो काखी च्यापेर सडकका पेटीमा लडिरहेकी थिई ।
आज वर्षौं बित्यो । गणतन्त्र विजयी ती तीन सुकुमारहरू पटक पटक सत्तामा पुगे । तिनका आँखा पातलीको निरीह जीवनमा कहिल्यै पुगेनन्।
टीकाथली, ललितपुर
९८४१७६६८३३