सुरेन उप्रेतीको परिचय सहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी साहित्य सर्जक एवम् सञ्चारकर्मी हुन् । प्रस्तुत शृङ्खलामा उनको हजुरबा– हजुरआमा शीर्षकको कथा रचना समेटिएको छ । यस रचनाले सहरिया जनजीवनका पारिवारिक विस–्गतिको पर्दाफास गर्दै बाल चरित्रका माध्यमबाट भएको पारिवारिक मिलनको सुखद क्षणलाई समेटेको छ ।
– सम्पा. |
जिज्ञासु गाउँमै जन्मिएकी भए पनि सानैदेखि बाबुआमासँग शहरमा बसेकी थिइन् । उनी पाँच बर्षकी हुँदा परिवर्तन जन्मियो । जिज्ञासु सानैदेखि भाइलाई असाध्यै माया गर्थिन् । आफू स्कुल गएका बेला मानिसले भाइलाई लैजालान् भन्ने उनलाई सारै ठूलो डर थियो । कहिले भाइ स्कुल जाने हुन्छ र स्कुल लैजानू ? भनेर आमालाई सोधिरहन्थिन् ।
भाइ प्ले ग्रुपमा स्कुल गएको दिन जिज्ञासुको हर्षको सीमा रहेन । उनले सबै साथीहरूलाई भाइको कक्षामा लगेर देखाइन् । दिदी र भाइ औधी मिलेका थिए । दिदी भाइको सारै ख्याल गर्थिन् । स्कुलमा उनीहरू नमुना नै थिए । सबै सर र मिसले जिज्ञासु र परिवर्तनको आत्मियताको उदाहरण दिनुहुन्थ्यो ।
उनीहरू हरेक दशैँमा बाबाआमासँग हजुरबा र हजुरआमाका हातको टिका लगाउन र आशीर्वाद थाप्न गाउँ जान्थे । दशैँदेखि तिहारसम्म गाउँमा बसेर हजुरबाहरूसँग रमाउँथे । हामीले हजुरबाहरूसँगै बसेर पढ्दा हुँदैन बुबा भनेर दुवैले सोधेका पनि थिए । बुबाले शहरमा पढाई राम्रो हुन्छ उतै पढ्नुपर्छ भन्नुभयो । कहाँ गाउँमा पढ्ने नि शहरमै पढ्नुपर्छ भनेर आमाले थप्नुभयो ।
पोहर साल सन्सारभरि फैलिएको कोरोनाले गर्दा दसैँमा पनि गाउँ जान पाएनन् । गाउँ जाने गाडीहरू केही पनि चलेका थिएनन् । हजुरबा र हजुरआमासँग जुममा हेराहेर भयो । जुममै टिका लगाइदिए जस्तो गर्नुभयो र आशिर्वाद पनि दिनुभयो ।
परार साल जिज्ञासु र परिवर्तन गाउँमा जाने खबर पाएर सबै गाउँलेहरू भेला भएका थिए । गाउँका मानिसहरू आफ्ना बारीमा फलेका फलफूल तरकारी दूध, दही र विभिन्न प्रकारका खानेकुराहरू लिएर आएका थिए । गाउँमा कस्तो राम्रो चलन । कोही पनि अरूको घरमा जाँदा खाली हात जाँदैनन् । सबैले केही न केही लिएर नै आएका थिए ।
जिज्ञासुहरू पुग्दा घामले डाँडामाथि चढेर सुत्नलाई होला खुट्टा तेस्र्याइसकेको थियो । दक्षिण पश्चिम फर्किएको गाउँमा घाम चैँ साँझैसम्म नै लाग्थ्यो । घरमा आएका मानिसहरू कोही बारीमा लिङ्गेपिङ लगाउँदै थिए । घरमै खसी काटेको रहेछ । कोही मासु चिउरा खाँदै थिए । कोही खाइसकेर बसेका थिए । घरमा त्यसै जात्रा जस्तै थियो । गाउँलेहरू हाँसी खुसी देखिन्थे । परिवर्तन र जिज्ञासुले त्यहाँ भएका सबैलाई नमस्कार गरे । हजुरबाले आएर उनीहरूलाई पालैपालो बोक्नुभयो । गाउँलेहरू सबैले ताली बजाएर स्वागत गरे । राती अबेरसम्म बालन सँगिनी आदि नाचगान गरेर बिताए ।
गाडीको लामो यात्राले थाकेर आएका जिज्ञासु र परिवर्तन दुवै निदाए । भोलिपल्ट बिहान उनीहरू उठ्दा झलमल्ल घाम लागिसकेको थियो । बिहानको खाजामा दूध र चिउरा खाएपछि हजुरबासँगै दुवै जना निस्किए ।
घर नजिकै स्कुल छ । स्कुलको छेउमा तीन–चार वटा पसलहरू छन् । मानिसहरू चिया पसलको बेन्चमा बसिरहेका थिए । हजुरबालाई सबैले उठेर अभिवादन गरे । जिज्ञासु र परिवर्तनले पनि सबै गाउँलेहरूलाई नमस्कार गरे । हजुरबाले दुई दुईवटा मालपुवा किनिदिनुभयो । सबै गाउँलेहरूले खाएको चियाको पैसा हजुरबाले नै तिर्नु भयो । मालपुवा खाएर परिवर्तन र जिज्ञासु स्कुलको चौरतर्फ लागे । चौरमा गाउँका थुप्रै केटाकेटीहरू भेला भएर चङ्गा उडाउँदै थिए । ती केटाकेटीले उडाउँदै गरेको चङ्गाको लटाई जिज्ञासु र परिवर्तनलाई दिए । दिदी भाइले धन्यवाद दिँदै चङ्गा उडाए । चङ्गा उडाउँदा उडाउँदै समय गएको पत्तै भएन ।
दिउँसोको बाह्र बज्न लागेको रहेछ । हजुरबाले लौ अब खाना खान जाऊँ भन्दा पो उनीहरू छक्क परे । सबै केटाकेटीलाई ल अब चकलेट खान जाऊँ भनेर जिज्ञासुले भनिन् । सबै केटाकेटी खुसी हुँदै उनका पछि लागे । जिज्ञासुले एक प्याकेट चकलेट किनेर सबैलाई बाँडिन ् । त्यहाँ बसेका हजुरबाका साथीहरूलाई पनि चकलेट दिन । सानी केटीले दिएको चकलेट लिनलाई अप्ठ्यारो लागेर उनीहरूले हजुरबाको अनुहारमा हेरे । हजुरबाले हुन्छ भन्ने सङ्केत गरेपछि सबैले चकलेट लिए । हजुरबाले पनि मेरी नातिनीले दिएको भनेर खुसी हुँदै चकलेट मुखमा लगाउनुभयो । जिज्ञासुले अरू चकलेट देखाउँदै भनिन् । यी यो चाहिँ हजुरआमालाई र बुबाआमालाई दिन बोकेको जिज्ञासुले देखाइन् । सबैले कति ज्ञानी नानी भनेर कुरा गरे ।
उनीहरू काठमाडौँमा बसे पनि दाल चामल घिउ तेल तर्कारी सबै गाउँबाट नै हजुरबा हजुरआमाले पठाइदिनु हुन्थ्यो । उनीहरू काठमाडौँमा डेरामा नै बसेका थिए । बाबुआमा दुवै जागिरे भए पनि घर किन्न सकेका थिएनन् ।
एक साँझ खाना खाएपछि छोराछोरी दुवै आआफ्नो कोठातर्फ लागे । आमाले बुबासँग साउती गर्दै भन्नुभयो । अब त जिज्ञासुले पनि बाह्र कक्षा सक्न लागी । परिवर्तन पनि आठ कक्षामा पढ्ने भयो । एक दुई दिन बिदा मिलाएर गाउँ गएर घर खेत बेचबिखन गरेर आउनु नि । बुबाले केही नबोले पछि आमाले फेरि थप्नुभयो । अब पनि शहरमा घर नकिने कहिले किन्नु । हामी चैँ सधैँ भाडामा नै बस्नू ? आमाले बुबालाई जोड गर्नुभयो ।
गाँउको घरजग्गा बेचेपछि बाबुआमालाई घर खोइ नि ? बाबुआमा कहाँ बस्नु हुन्छ गाउँमा कस्तो रमाएर बस्नु भएको छ । शहरमा ओल्लो घर पल्लो घर कसैसँग चिनजान हुँदैन । शहरमा कसरी बस्न सक्नुहुन्छ र ? बुबाले थप्नुभयो ।
आ नातिनातिनीसँग खेल्नुहुन्छ । बिहान बेलुका पूजाआजा र भान्सामै समय गैहाल्छ । आमाले थप्नुभयो । एक हप्ता पछि बुबा गाउँ जानुभयो । झन्डै पन्ध्र दिन गाउँमै बस्नुभयो ।
एक दिन बेलुकाको खाना खाँदै गरेको बेला हजुरबा हजुरआमा शहर आउने कुरा बुबाले सुनाउनु भयो । अब घर किन्ने र सबै सँगै बस्ने कुरा गर्नुभयो । बुबाका कुरा सुनेर जिज्ञासु र परिवर्तन खुसीले उफ्रिए । महिना दिनपछि घर किनेर हजुरबा हजुरआमासहित सबै नयाँ घरमा सरे ।
प्रायश: हरेक शनिवार हजुरबा हजुरआमासँग कहीँ न कहीँ घुम्न निस्कन्थे । कहिले चिडियाखाना त कहिले चन्द्रागिरि केवल कार चढ्न जान्थे । हजुरबा हजुरआमा पनि खुसी हुनुभएको थियो । तीन चार महिनासम्म घरमा खुसी नै खुसी छाएको थियो । बिस्तारै आमाले हजुरआमालाई भान्साको काम जिम्मा लगाउनुभयो । हजुरबालाई पनि किनमेलको जिम्मा लाग्यो । आमालाई अफिसको कामको बोझले घरको काम जति सबै हजुरआमालाई खनियो ।
आमा कामको र घरको बोझले सा–साना कुरामा पनि झर्किन थाल्नुभयो । हजुरआमाको वृद्ध शरीर काठमाडौँको चिसोले गर्दा हात गोडा सुन्निए । जिज्ञासुले भान्सामा गएर हजुरआमालाई सगाउँदा आमाले पढ्न जा भनेर सगाउन दिनुहुन्न थ्यो । हजुरआमा बिरामी भएर थला नै पर्नुभयो । परिवर्तन र जिज्ञासुले हजुरआमालाई औषधी र तातो पानी नियमित दिएपछि बिस्तारै निको हुनुभयो ।
त्यो दिन शुक्रवार थियो । जिज्ञासुको बाह्र कक्षाको अन्तिम परीक्षा थियो । भाइ र ऊ सँधैँझैँ आआफ्नो स्कुल गए । स्कुलबाट बेलुका घर आउँदा हजुरबा हजुरआमा घरमा हुनुहुन्नथ्यो । दुवै जनाले हजुरबा हजुरआमा कता जानुभयो भनेर सोधे । बुबा बोल्न नपाउँदै तिमीहरूका हजुरबा हजुरआमालाई गाउँको न्यास्रो लाग्यो रे । गाउँ नै जान्छौ भनेर हिँड्नुभयो आमाले सुनाउनुभयो । जिज्ञासुले भाइलाई केही नबोल्न इसारा गरिन् । खाना खाएर दुवै आआफ्ना कोठातर्फ लागे । बाबुआमा सुतेपछि दिदीभाइ भेला भएर हजुरबा हजुरआमालाई खोज्न जाने योजना बनाए ।
भोलि शनिवारको दिन हो । मैले मेरो सबभन्दा मिल्ने साथी जेनिशासँग स्कुटी मागेको छ । म बाबुआमालाई साथीहरूले नगरकोट जाने भनेका छन् । भाइलाई लिएर जान्छु भन्छु । अनि हामी दुवै जना हजुरबा हजुरआमा खोज्न जानुपर्छ । दिदीका कुराले परिवर्तनलाई पनि ढुक्क भयो । भोलिपल्ट बिहानै जिज्ञासुले आफ्नो नगरकोट जाने योजना आमालाई सुनाइन् । आमाले बुबालाई भनेर एक हजार खर्च मागिदिनुभयो । बिहान चाँडै खाना खाएर दुबैजना घरबाट निस्किए ।
जिज्ञासु र परिवर्तनले स्कुटीमा चढेर काठमाडाँैका सबै वृद्धाश्रमहरू चाहारे । हजुरबा हजुरआमालाई कतै पनि भेट्न नसकेर हैरान परे । भोक र थकानले हैरान भएर गौशाला नजिकको एउटा होटेलमा खाजा खान पसे । पसलमा चिया र समोसा खाँदै दिनभरि घुमेका वृद्धाश्रमका बारेका कुरा गरे । पसलेले अघि देखि नै उनीहरूका कुरा सुनिरहेका रहेछन् । त्यहीँ सिफल नजिकै अर्को एउटा वृद्धाश्रम रहेको कुरा पसलेले सुनाए । आज सारै थाकियो अब अन्तिम सिफलको वृद्धाश्रम जाउँ न त भन्दै वृद्धाश्रमतर्फ लागे । वृद्धाश्रममा पुगेर हिजो आउनुभएका हजुरबा हजुरआमालाई बाआमाले भेट्न पठाएको भने । न भन्दै उनीहरूका हजुरबा र हजुरआमा त्यहीँ हुनुहुँदो रहेछ । चारै जना अँगालो हालेर रुवाबासी गरे । जिज्ञासुले आँसु पुछ्दै आज यहीँ बस्नु भोलि हामी लिन आउँछौ भनेर दुवै निस्किए । जिज्ञासुले उनकी साथीलाई फोन गरिन ्र कोठा भाडामा मागिन् । जिज्ञासुका साथीका बुबाको उद्योग थियो । साथीको बुबालाई भेटेर सबै कुरा सुनाइन् र जागिरका लागि अनुरोध गरिन् । भोलिदेखि नै उनको जागिर पक्का भयो । साथीहरूसँग कुरा गरेर लुगा कपडा र भाँडाकुँडाको बन्दोबस्त मिलाए । खानेकुरा दाल, चामल नुन तेल सबै व्यवस्था मिलाएर साँझमा घर फर्किए । भाइ बिहान स्कुल जाने र स्कुलबाट नयाँ डेरामा जाने सल्लाह भयो । जिज्ञासु पनि स्कुलमा काम छ भन्दै बिहान भाइसँगै घरबाट निस्किन् । भाइ स्कुलबाट आएपछि दुवै जना हजुरबा र हजुरबालाई लिन वृद्धाश्रम पुगे । साँझमा सबै जना नयाँ डेरामा पुगेर खाना पकाएर खाए ।
उता साँझसम्म पनि छोरा छोरी घर नआएपछि उनीहरूको खोजी सुरु भयो । जिज्ञासुको सिरानीमाथि एउटा चिठ्ठी भेट्टियो । बुबाआमा ! हामीलाई खोज्ने कष्ट नगर्नु होला । भाइ र म हजुरबा र हजुरआमासँगै छौँ । हजुरबाहरूको एक मात्र प्यारो छोरा बुबा जस्तै, तपाईँहरूका हामी प्यारा छोराछोरी जिज्ञासु र परिवर्तन भन्ने चिठीमा लेखेको थियो । आमाले दोहोर्याएर तेहेराएर चिठ्ठी पढेपछि कुदाउँदै लगेर बुबालाई देखाइन् । तिमीले बाउआमा गाउँ गए भन्यौ । पक्कै पनि खोज्नलाई गाउँ गए होलान् । छोराछोरी हराएकोमा दुबैजनालाई छटपटी भयो । गाउँमा कसैलाई थाहा छ कि भनेर बुबाले गाउँमा फोन गरे । बल्लतल्ल गाउँमा सम्पर्क भयो । तर गाउँ पुगेको थाहा भएन । छोरीका साथीहरूलाई सम्पर्क गर्न खोजे तर अहँ कसैको पनि फोन उठेन । छटपटीमै रात बित्यो । बिहान उठेर खोज्न गाउँ जाने निधो गरे । बुबा गाउँ पुगे तर केही पत्ता लागेन । पुलिसलाई खबर गर्ने कि भन्ने पनि सोचे तर बाबुआमालाई घरबाट निकालेको खबर आउला भनेर त्यसो गर्न पनि सकेनन् । छोरी मात्र हराएकी हुँदा त केटासँग भागी होला भन्ने पनि हुन्थ्यो । भाइ पनि सँगै छ । छटपटी हुँदै रात बिताए ।
अब एक पटक स्कुलमा गएर सोध्नु नि त छोराको बारेमा केही पत्ता लाग्छ कि आमाले भनिन् । बुबाले बिहानै स्कुलको अफिसमा गएर प्रिन्सिपललाई भेटे र छोराको कुरा गरे । परिवर्तन त हरेक दिन स्कुल आइरहेको छ । प्रिन्सिपलका कुरा सुनेर बुबा छक्क परे । अहिले परीक्षा हुँदैछ परीक्षापछाडि मात्र भेट गर्न मिल्छ प्रिन्सिपलले भने । तीन घण्टासम्म पर्खिनु पर्ने भएकोले पछि आउँछु भनेर बुबा घर गए । आमा अफिस गएकी रहिछन् । छोरा स्कुलमै रहेछ । स्कुल छुट्टी हुने बेलामा गएर ल्याउँछु पिर नगर्नू, आमालाई फोन गरेर भने । स्कुल छुट्टी भएपछि छोरालाई ल्याउनका लागि स्कुलको गेटमा गएर पर्खिए । सबै केटाकेटी आइसक्दा पनि छोरो नआएपछि गेटको पालेलाई सोधे । तर पालेले चिन्दो रहेनछ । पालेले कक्षा परिवर्तनका कक्षामा पढ्ने अरू केटाकेटीलाई सोधे । परिवर्तन घर गैसक्यो भनेर अरू केटाकेटीले बताए ।
यसरी चौथो दिन पनि छोरा छोरी नआएपछि छटपटाउँदै एउटा साथीलाई फोन गरे । उनकी छोरी र जिज्ञासु सानैदेखिका मिल्ने साथी थिए । उनको फ्याक्ट्रीको एकाउन्टमा जिज्ञासु काम गर्दिरहिछिन् । त्यतिसम्म भने तर उनले कुरा गर्न त्यति उत्सुकता देखाएनन् । छोरीले काम गर्न थालेको भन्ने चैँ थाहा भयो । भोलिपल्ट बिहानै बाबुआमा दुबै जना छोरीको अफिसमा पुगे । छोरी काममा व्यस्त थिइन् । छोरीलाई हामी बेलुका लिन आउँछौँ । भाइलाई लिएर घर जानुपर्छ छोरी भनेर आमाले भनिन् । छोरीले कुनै पनि प्रतिक्रिया जनाइनन् ।
बेलुका जिज्ञासुको अफिस छुटेर बाहिर आउँदा बाबुआमा दुवै जना पर्खिरहेका रहेछन् । आमाले जिज्ञासुलाई अँगालो मारेर रुन थालिन् । किन घर छोडेर हिँडेका ? हामीले कति खोज्यौँ । अनि भाइ कस्तो भयो ? मेरो चिठ्ठी त पाउनु भयो होला नि ? अनि किन खोज्नु भएको ? हामी हजुरबाहरूसँगै गाउँमा छौ । गाउँको सबै बेचेर ल्याउने अनि घरबाट निकाल्ने तपाइँहरू कति महान् छोराबुहारी जिज्ञासुले भनिन् । अब त कोही नहुँदा सबै काम पनि आफैँ सक्नुभयो होला ? कसैलाई कराउनु पनि परेन होला ! ल म जान्छु । भाइ पनि भोकाएर स्कुलबाट आयो होला भनेर निस्किन् ।
उनले एक पटक आमाबुबालाई पुलुक्क हेरेर हिँडिन् । छोरीलाई रोक्नु न भन्दै आमाले बुबाको हात तानिन् । जिज्ञासुको साइकल टाढा पुगिसकेको थियो । आमाबुबा दुवैले हजुरबा र हजुरआमालाई घरबाट निकाल्दा यस्तो होला भन्ने सपनामा पनि सोचेका थिएनन् । छोरी गएपछि दुवै जना निराश भएर घर फर्किए । उनीहरूलाई आफ्नो कार्यको अपराध बोधले छटपटी भयो । पेट पोलेर आयो । दुबैलाई निन्द्रा पनि लागेन । रातभरि यता उता फर्किँदै रात बिताए ।
भोलिपल्ट बेलुका दुबैजना गएर हजुरआमा र हजुरबाको खुट्टा ढोगेर माफ मागे । अबदेखि कहिल्यै पनि यस्तो गल्ती गर्ने छैनौ भन्दै रोए ।
हजुरआमासँग तपाइँहरू घरमा गएर बस्नु मात्र होस् । केही गर्नु पनि पर्दैन भन्दै आमा रुनुभयो । हजुरबाहरूले तपाई हाम्रो खुसीका लागि कति दु:ख गर्नुभयो । वहाँहरू त भगवान् हो । हजुरआमा र हजुरबा भएको घर त पवित्र मन्दिर हो– जिज्ञासुले भनिन् । हजुरबाका आँखाबाट आँसुका ढिक्काहरू गालातिर झरे । हजुरबाले दुवै नातिनातिनीलाई अँगालोमा बाँध्नुभयो । आमाबुबाले पनि छोराछोरी र हजुरबा हजुरआमालाई अँगालो मार्नुभयो । जिज्ञासुले परिवर्तनको हात दह्रो समातेर हामी सफल भयौँ भन्ने सङ्केत दिइन् । सबै जना मिलेर घर फर्किए ।