प्रह्लाद पोखरेल नेपाली साहित्यका विशिष्ट कवि प्रतिभा हुन् । निरन्तर शास्त्रीय लयका कविता सिर्जना गरिरहेका पोखरेलको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको नयाँवर्षको शुभकामनालाई संकेत गर्ने शुभकामना शीर्षकको कविता समेटिएको छ । यस कविताले मान्छे र प्रकृतिको दुरी नजिक बनाएर नववर्ष आओस् भन्ने कामना गरिएको छ ।– सम्पा. |
१.
अर्को ‘राक्षस’ नाम धारण गरी आएछ सम्वत्सर
‘कोरोना’ किन हो अझै छ अररो बन्दै अटेरी तर !
आफ्नै सामु अदृश्य शत्रुसँग नै चल्दैछ सङ्घर्ष पो !
सारा विश्व रमाउने तवरले आओस् नयाँ वर्ष यो।
२.
मान्छे हुर्मत लिन्छ जो प्रकृतिको बन्दै सधैँ बैगुनी
पृथ्वी रोइरहेछ धर्धर जहाँ सारै बिरामी बनी
पृथ्वीको हुनसम्मको सकस यो थाम्नै नसक्ने भयो
सारा विश्व रमाउने तवरले आओस् नयाँवर्ष यो ।