|
-सम्पा.
|
साँच्चै मन्द छ माधुरी मधुरको यो शारदी आगम !
बिझ्ने छैन कतै कतै पल थला सानन्द छन् साँघुरी
यस्तै शासक क्वै भए शिखरमा हुन्थ्यो नि अल्कापुरी !!लाग्ने घाम समान मान गतिले संसारमा छाउँछ
जम्मैमा नभएर भिन्न समको आलोक फैलाउँछ !
पोल्दैनन् पलले र ठेल्न बलले जन्मन्न क्वै को मन
यस्तै शासक क्वै भए शिखरमा सन्तुष्ट हुन्थे जन !!
छैनन् हुन्हुन हुण्डरी पनि कतै सन्त्रास बिच्छ्याउने
छैनन् डुङ्डुङ बाढका डर कतै उन्माद मच्चाउने !
जम्मै भित्र छ एकनास मधुको प्याला सरी टल्पल
यस्तै शासक क्वै भए शिखरमा हुन्थ्यो धरा झल्मल !!
हावा मन्द मिठासको छ मनमा पाऊँ अझै झैँ छ यो
चिर्विर्चिर्विरका चरी वन भरी गाऊँ अझै झैँ छ यो !
नौला छन् कण रङ्ग रङ्ग सजिने नौलै बनूँझैँ छ यो
यस्तै शासक क्वै भए शिखरमा संसार फेरिन्छ यो !!
झस्का छैन कतै र मोह अतिको टाँसेर चुम्ने कतै
चस्का छैन कतै र प्यार अतिको गाँसेर झुम्ने कतै !
आफ्नो छैन कतै र छैन अरूको सीमा बनेको कतै
यस्तै शासक क्वै गए शिखरमा के भेद हुन्थ्यो कतै??
यौटा शावक चर्छ यो चउरमा भोको भरी पेटको
गाई दूध चुहाउँदैछ रसिलो बाछो लिई भेटको!
भैँसी मट्मटमा खुला मुख गरी आनन्द उघ्राउँछ
यस्तै शासक क्वै पुगे शिखरमा संसार ब्यूँझाउँछ !!



कलानिधि दाहाल (२०१६ फागुन ०८, ओखलढुङ्गा,बिगुटार नगरपालिका) नेपाली कविता परम्परामा गद्य र पद्य दुवै ढाँचाका कविता कलामा पोक्त प्रतिभा हुन् । उनका गौरवमय नेपाल (२०३८), केही कविःकेही कविता (२०४३) र कलानिधिका चुनिएका कविता जस्ता कवितासङ्ग्रह प्रकाशित छन् । उनले कविताको अभ्याससँगै सीमावासु (२०६५) खण्डकाव्यका साथै विभाजित विश्व (२०६६) महाकाव्य कृतिहरू सिर्जना र प्रकाशन गरेका छन् । उनी अहिले पनि निरन्तर कविता साधनामा सक्रिय छन् । उनको कलम आख्यानतर्फ पनि सक्रिय छ । उनका अरस्तुदेखि बङ्करसम्म ( २०६८) उपन्यास कृति प्रकाशित छ । उनी आफ्नो समयका राम्रा निबन्धकार पनि मानिन्छन् । उनको शिखरयात्रा (,२०७६) निबन्धसङ्ग्रह प्रकाशित छ । शिक्षण पेसाबाट सेवानिवृत्त दाहाल अहिले निरन्तर सिर्जनामै सक्रिय छन् । उनी सीताराम प्रज्ञाप्रतिष्ठान भानुमोति पुरस्कार (२०५८), सुलेख आख्यान प्रतिभा पुरस्कार (२०७३) लगायत विविध पुरस्कार एवम् सम्मान प्राप्त प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको शरद् शीर्षकको कवितालाई समेटिएको छ । यस कविताले सरद्कालीन प्रकृतिलाई विविध विम्बमा प्रस्तुत गरेका छन् । उनले सरदका गुणलाई राष्ट्र निर्माणमा समर्पित शासकका गुणसँग तुलना गर्दै कवितालई निकै कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।