![]() – सम्पा |
नेपाल इन्डिया देश छिमेकी र घनिष्ठ हुन् ।
आउजाउ तथा काम एकै देश समान छन् ।।
तर छौँ हामी चैँ सानो अति नै ऊ भने ठुलो ।
त्यसैले बिचको सत्य धेरै नै हुन भिन्न गो ।।१।।
सार्वभौम दुवै राष्ट्र स्वतन्त्रै छौँ दुवै तर ।
खुला छ सिमाना साथै छ ऊचैँ आत्मनिर्भर ।।
त्यसैले उसको हात पर्दछ माथि नै सधैँ ।
गर्नु आफूखुसी भन्छ परवाहविना कुनै ।।२।।
हामीचैँ जीवनै दिन्छौँ उसलाई बचाउन ।
मान्दैनौँ कति नै दुःख आफ्नो रक्त बगाउन ।।
श्रमिक अथवा सैन्य चौकिदार भएर जे ।
सम्पूर्ण गर्दछौँ काम शक्तिले र इमानले ।।३।।
कृतघ्न ऊ भने हाम्रै सिमाना मिच्न आउँछ ।
दशगजा मिची खेती घरबार चलाउँछ ।।
नाकाबन्दी लगाएर कतिपल्ट सताउँछ ।
थुनेर बगेका खोला हाम्रै गाउँ डुबाउँछ ।।४।।
कमाई फर्किंदा लुट्छ सीमामा मिच्छ छैनझैँ ।
मानवता न हेर्दिन्छ न त हेर्दछ कानुनै ।।
स्वेच्छाले पसी सोभैm नेपाली क्षेत्रभित्र ऊ ।
सुरक्षाकर्मी बिर्सेर गर्छन् अन्याय के भनूँ ।।५।।
इन्डियन् गोरखा जो छन् बसेका जुगदेखि नै ।
जति हुन् पौरखी वीर जति हुन् देशभक्त नै ।।
सताउनु सदा भन्छ अनागरिकलाई झैँ ।
कदर त कहाँ गथ्र्यो उल्टो गर्छ तिरस्कृतै ।।६।।
उसका शत्रुका सामु उनैलाई खटाउँछ ।
परन्तु बाहिरैभित्रै उनैलाई सताउँछ ।।
विजीत शत्रुझैँ हेप्छ आँखाको कसिँगारझैँ ।
गोर्खालाई सताएर ठान्छ काम भयो ठुलै ।।७।।
नेपाली हुनुकै पीडा बोक्न छन् अभिशप्त ती ।
पराई ठान्न छन् बाध्य जन्मेकै देशमा पनि ।।
त्यतिकै निहुँमा व्यर्थै उनलाई सताउँदा ।
परपीडकको लिन्छ आनन्द निर्दयी सदा ।।८।।
छिमेकी पनि उल्क्याई हामीमाथि खन्याउँछ ।
हजारौँ वर्षको मेटी इतिहास भगाउँछ ।।
सहने कति हो खप्ने आशामा कति पर्खिने ?।
टुसाउला भनी ढुङ्गो कति यो भ्रम बाँचने ?।।९।।
कालापानी तथा सारा मिचिए जति छन् सबै ।
हुनुपर्छ भनी मुक्त आज देश उठ्यो सबै ।।
तर यो आजको हैन न एकै क्षणको कुरा ।
वर्षौंको घाउ हो दुख्ने थपिएको निरन्तर ।।१०।।
जुटेको थपिएको र युगौँको अनुभूति हो ।
आफ्नैको हेलचेक्र्याइँ दादागिरी छिमेकको ।।
रक्षा, स्वास्थ्य तथा शिक्षा, राजनीति सबैसबै ।
युगौँदेखि चलेको हो परनिर्भरमा हुँदै ।।११।।
अङ्ग्रेजी शासनैदेखि गारोखाँचो सबैसबै ।
जिम्मा भारतकै जस्तो पारियो वा गयो हुँदै ।।
भारतैमा भए हाम्रा नेतादि अगुवा सबै ।
शिक्षा, दीक्षा उहीँ पाए खारिए र सधाइए ।।१२।।
घनिष्ठता भयो ज्यादै सँगै निर्भरता बढ्यो ।।
अभ्यास यसको बढ्दा आत्मनिर्भरता घट्यो ।।
सजिलो पनि भो उल्टो मौका भो धाक लाउन ।
गोलबद्ध हुनेभन्दा भाइभाइ दबाउन ।।१३।।
सुख नै पनि भो केही दुखचैँ बढी भो भने ।
फाइदा पनि भो केही धेरै बेफाइदा भने ।।
दोस्रोमध्ये ठुलो एक सीमा मिच्ने सदा भयो ।
अर्कोचैँ गाईझैँ नित्य दुहुने जतिसम्म हो ।।१४।।
आजसम्म भयो जे जे होसियार भई अब ।
जरुरी हुन गो उठ्नु अबिलम्ब गरी सब ।।
तनले मनले साथै सम्पत्ति अनि शक्तिले ।
प्रतिबद्ध भई डट्नु मात्रै छ देशभक्तिले ।।१५।।
इजरायली वा स्वीसजस्तै दृढ र सक्षम ।
मन एक तथा पूर्ण आत्मनिर्भर भैकन ।।
मन्त्रले, तन्त्रले, ज्ञान, बुद्धिले बलले सबै ।
कुटनीति तथा सारा अरू नीति लगाउँदै ।।१६।।
एक हैन दुई हैन दिनरात सदासदा ।
परिआउँछ जे गर्नु डटी पर्छ मुकाबिला ।।
नबिर्सिई सबै पीडा अनन्त युगदेखिका ।
अपमान, ठगी साथै जबर्जस्त दवाबका ।।१७।।
शिर उच्च उठाएर भै निर्धक्क हिमालझैँ ।
प्रण आज गरूँ डट्ने चन्द्र–सूर्य रहेतकै ।।
अर्काका निमित्त लड्ने विश्वका विजयीहरू ।
आफ्ना निम्ति परे लड्ने प्रमाणित यहीँ गरूँ ।। १८।।
चाकडी चाप्लुसी गर्ने फकिने, लोभिने कुनै ।
तर्किने, लत्रिने, भाग्ने आफूभित्र भए कुनै ।।
तिनलाई चिनी खोजी सम्झाएर कुरा गरूँ ।
बहिष्कार गरूँ नत्र कठ्घरामा खडा गरूँ ।।१९।।
नेपाल–इन्डिया बीच सम्बन्ध छ अभिन्न यो ।
सांस्कृतिक तथा अर्को भौगोलिक दुवै छ यो ।।
यसको कहिल्यै अर्थ तर हैन सदा कतै ।
पसिना, आँसु वा रक्त हाँसो मात्र हुने कतै ।।२०।।
हुँदैन हुनु अन्याय कहिल्यै र कतै पनि ।
व्यवस्थित हुनैपर्छ सिमाना जसरी पनि ।।
हुनुहुन्न कसैबाट कसैमाथि थिचोमिचो ।
आरक्षित हुनैपर्छ हितचैँ कमजोरको ।।२१।।
युद्धकै स्तरमा स्थायी हुनेसम्म अहिंस्रक ।
अभियान अविच्छिन्न बेरोकटोक चाल्नुछ ।।
हातमा खुकुरी, झन्डा मनमा देशभक्तिको ।
ननिभ्ने दीप बाल्ने हो स्वाभिमान उचाइको ।। २२।।