हार्छन् देश न युद्धमा, प्रगतिमा सानो हुँदैमा पनि
जित्छन् नै न यथार्थमा जतिसुकै ठूलै भएमा पनि
पाइन्छन् इतिहासमा विजयका सानाहरूका जति
ठूलाका पनि छन् उदाहरण जो हार्नै परेका उति ।
मात्रै सायद हुन्न हार–जितको आधार भूगोलमा
हुन्छन् ती जति एकता–कुशलता–चातुर्य नेतृत्वमा
हार्छन् कारण धेर ता मन तथा हारेर विश्वासले
बन्छन् जो कि त टुट्तछन् बिलकुलै नेतृत्वकै कार्यले ।
गोर्खा नै उपमा छ बार सयको टिस्टा र सत्लज् पुग्यो
इच्छाशक्ति र एकता–कुशलता–विश्वासले जो बन्यो
निर्मातापछि एकता–कुशलता टुट्तै गई राज्य नै
आधामात्र रही डुब्यो अरू सबै नेतृत्व स्वार्थान्ध भै ।
त्यस्तो राष्ट्रिय एकता–कुशलता–चातुर्यताखातिर
यौटै शर्त इमानदार रहनै नेतृत्वले पर्दछ
बोलीमा, मनमा र कर्म सबमा साझा भलो राष्ट्रको
छोडी हुन्न जहाँ निजी, समूह वा स्थानै कुनै स्वार्थको ।
गर्ने साधनको प्रयोग कुशलता हो उच्च सज्ञानता
गर्ने शासन पक्षपात नगरी हो उच्चतम् एकता
चातुर्यै कुटनीति हो नजिक वा टाढा छिमेकीसँग
ग्यारेन्टी बुझ एकता–कुशलता–चातुर्यताको तब ।