कृष्णशरण उपाध्याय पौडेलको परिचय नेपाली शिक्षा र साहित्य क्षेत्रमा रहेको छ । उनी पाठक लक्षित शास्त्रीय लयढाँचाका कविता सिर्जना गर्न सक्छन् । पाठक लक्षित भन्नुको अर्थ विद्यार्थीलाई केन्द्रमा राखेर लेखिएका १०१ वटा कविताहरूको संग्रहका रूपमा उनको कर्णधार कृति छ । त्यस्तै युवा प्रेमिल पाठका लागि १०८ वटा कविताको श्रीकृष्ण हृति छ । उनीशास्त्रीय छन्दका कविका रूपमा सर्वपरिचित र लोकप्रिय नाम हो। कवि उपाध्यायका कवितामा शब्द को माधुर्य मात्र होइन भाव र विचारको संयोजित प्रस्तुति पनि पाइन्छ । प्रस्तुत शृखलामा उनको थाहै पाइनँ शीर्षकको कविता समेटिएको छ । यो कविता शार्दूलविक्रीडित छन्दमा संरचित छ । यस कविताले विगतलाई देखाउँदै समयको महत्त्व उजागर गरेको छ । -सम्पा. |
लड्दा जीवन को लडाइँ कहिले, यो देह बूढो भयो ?
चढ्दा जीवन को चढाइ कहिले, यो पाउ लूलो भयो ?
थाहै पाइनँ बाल्य यौवन हुँदै, बूढो भएको पनि
चालै पाइनँ बोट जर्जर भई, मूढो भएको पनि १
टोक्थेँ लौह चना कठोर श्रम का, ती सम्झना भैगए
तोड्थेँ पत्थर कर्म का अति कडा, ती कल्पना झैँ भए
थाहै पाइनँ पुष्ट देह यसरी, लोते भयो के गरी ?
चालै पाइनँ वज्र – दन्त यसरी, थोते भयो के गरी ? २
काला केश थिए, तुषार छरिई, सर्लक्क सेता भए
गाला बेस थिए अचम्म झुरिई, खाल्डा खपेटा भए
थाहै पाइनँ नेत्ररूप बिजुली, निभ्दै गएको पनि
चालै पाइनँ जीवनीमय नली, सुक्दै गएको पनि ३
मेरो अब्बल देह बाँस जसरी, झुक्दै छ खोक्रो भई
मेरो बाहिर को त्वचा अझ बढी, सुक्दै छ बोक्रो भई
थाहै पाइनँ शक्ति के हुन गयो, चोला पुरानो भयो
सारा तेज गयो र तेल सकियो, आफ्नो बिरानो भयो ४
कैयौं बाल्य सखा बिरक्तिन पुगी, कावा र काशी गए
कैयौं जीवन देखि मुक्तिन पुगी, वैकुण्ठवासी भए
बाँचेको छु शरीर थर्थर भई, यी हाड तङ्ग्र्याउँदै
नाचेको छु अझै यहाँ अनि उहाँ, यो ढाड बङ्ग्याउँदै ५
छन्द : शार्दूलविक्रीडित