आकाश अधिकारी मोफसलमा बसेर विविध विधामा कलम चलाउने प्रतिभा हुन् । उनको कलम नाट्यविधा र कविता एवम् कवितात्मक उपविधामा जमेको छ । उनको परिचय सहित्यसागरमा समेटिइसकेकाले यहाँ सारभूत रिचयसहित ‘धमिलो चित्र’ शीर्षकको कविता समेटिएको छ । यस कविताले सामाजिक यथार्थको उद्घाटन गरेको छ । -सम्पा. |
चिसो बढेको छ
पोहोर हिँउदमा छिमलेर राखेका
सल्लोका दाउरा सल्काउनु छ।
अनि !
आङ सेकाउनु छ।
पटपटि चर्केका पैताला तताउनु छ।
जसरी हुन्छ चिसो भगाउनु छ।
ताँउलोभरि पानी तताएर
यो हिँउदमा नुहाउनु छ।
……××……
कमाउन खाडी गएको छोरो
घरमा फर्केको छैन्!
पढ्न गएकी छोरी गाउँमा फर्केकि छैनन्!
माइत गएकी बुहारी
ससुरालमा फर्केकी छैनन्!
यो,दम्पती भरियाको सपना!
बिपना बनेर आएको छैन।
……××……
झरिले मक्किएको धुरीखाँबो!
डाँडा ,भाँटा र पालि सगै खसेपछि!
चिसो हिउँदे रात!
गजब भएको छ।
भरिया दम्पती!
जून र ताराहरुको साम्राज्य नियाल्दै!
जाग्राम बसेका छन रातभरि।
हरेक रात नियाल्दैछन्
जिन्दगीको सुदूर भबिस्य।
…××…
सयौं कोष टाढा एउटा शहर छ !
जहाँ हजारौं अग्ला दरबारहरू छन्
त्यहीँ दरबारभित्र बसेर।
केही बुँख्याचाहरू कोर्दै छन्
एउटा धमिलो चित्र
अनि !
माथिल्लो भागमा लेखिदैछ
समृद्ध देशको
धमिलो चित्र।
~आकाश अधिकारी-तनहुँ।