डा. नवराज लम्साल नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको कविता सिर्जनयात्रा मुक्तक, गीतिरचना हुँदै फुटकर कविता र महाकाव्यसम्म विस्तारित छ । उनका तीन वटा महत्त्वपूर्ण महाकाव्य प्रकाशित छन् । अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता लम्साल सञ्चार क्षेत्रमा पनि उत्तिकै सुपरिचित छन् । उनका धरा, कर्ण र अग्नि जस्ता महाकाव्य आआफ्नै विशेषताले पूर्ण छन् भने उनका दर्जनौँ गीति रचनाहरू आम सञ्चारमाध्यममा गुञ्जिइरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा लम्सालको ‘युवाका नाउँमा’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा युवा पुस्ताका जागृत चरित्रलाई उद्घाटन गरिएको छ ।
-सम्पा. |
आगामा घिउझैँ मजासँग बले ज्वाला युवा हो बुझ
बाली चट्ट फुलेर मग्मग झुले बाला युवा हो बुझ
द्रष्टा दर्शन दूर दृष्टि थपिए आँखा युवा हो बुझ
आफ्नै देश बुझेर गाउँछ भने भाका युवा हो बुझ ।१।
अल्छी राल सिगानका गनगने बन्दैन कोही युवा
जुम्सो जाँगरहीन पक्क लठुवा भन्दैन कोही युवा
आफैँ ठस्ठस ठ्यास्स ङिच्च थुतुनो के त्यो युवा हो भन
साँच्चैका जिउँदा र कर्मठ युवा यो देश बोक्ने बन ।२।
जस्को छैन विचार बोल्छ ननिको जो छैन वैचारिक
इच्छा शक्ति विहीन हीन मनको जो हार्छ आफैँसित
अर्काको रिस गर्छ जल्छ रिसमै आक्रोशको खात छ
त्यस्तो लम्पटको उमेर जति होस् के त्यो युवा बन्छ र ? ।३।
श्रद्धा पूर्वजको गरोस् निडर होस् आफैँ विजेता बनोस्
नेपालीपनमा रमोस् रगतले नेपाल मेरो भनोस्
आफैँ यान बनेर दूर नभको त्यो दूर बाटो चिनोस्
साँच्चै वीर युवा युवा हृदयले सङ्कल्प बोकी हिनोस् ।४।
शब्द शिबिर, काठमाडौँ ।