रमेश शुभेच्छु युवा पुस्ताका स्रष्टा एवम् द्रष्टा व्यक्तित्व हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी सिर्जनातर्फ कविता, गीत, गजल र काव्य रचनामा निकै जमेका देखिन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘सियो’ शीर्षकको कविता समेटिएको छ । यस कविताले सियोलाई घोचेर दुखाउने नभई एकताको सूत्र विम्बका रूपमा प्रस्तुत गरेको छ ।
-सम्पा. |
सिलाऊ मन फाटेका
मिल्दछन् शक्ति एकता
देखिन्छ देख्न टालेको
सिउनुपर्छ च्यातिँदा ।
सिलाऊ तन फाटेका
पच्छन् अजीर्ण दुःखका
सिउनु घोच्नु भिन्नै हो
सिउनुपर्छ दर्दमा ।
सियो पाएँ भनी घोचे
बढ्छ दुरी र तिक्तता
सियो धागो उनी खिल्दा
बढ्छ आत्मीय एकता ।
सियो पाएँ भनी घेच्दा
दुख्छ अर्को चिडाउँछ
सियोले सिउँदा फेरि
फाटेको नि मिलाउँछ ।
नघोच छ सियो भन्दै
काँडा हैन सियो कुनै
सेऊ सके सबै धाँजा
फाटेको क्यै नहोस् कतै ।
मानवीय कला खोज्दै
फाटेका मन जोड्नु छ
घोच्न हैन सियो बोकी
सिउनी गर्न जान्नु छ ।