बिन्दु दाहाल मुकदर्शक समकालीन कवि प्रतिभा हुन् । उनको परिचय साहितयसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको शासक भए शीर्षकको कविता समेटिएको छ । यस कविताले शासक असल भए देशमा कसैले पनि बदमासी गर्न नपाउने चिन्तन अगाडि सारेको छ । शिखरिणी छन्दमा संरचित यस कविताले राजनीतिक विसंगतिका कारक शासक भएको ठहर गरेको छ । -सम्पा. |
अबेलाको बेला झटपट सधैँ कर्म गरिए
ओरालोको रालोसरि छ विषले माथ भरिए
निसानीले सानी धुरुधुरु रुँदैछे कहरमा
अचानोको चानो गरिब बनियौं यो शहरमा ।
पँलेटीमा लेटी कुसुम वयकी मस्त तरुनी
परेलामा रेला पलपल चल्यो साथ छ जुनी
झमेलाको मेला नरबिच हुँदा त्रास छ जतै
उकालोमा कालो असहज भयो मौसम कतै ।
सिरानीमा रानी हरपल बसे सार्थक भयो
हलेदोको लेदो घुटुघुटु पिए औषधि छ यो
सिकर्मी यी कर्मी रगतपसिना साथ जिउँदा
उधारोको धारो सकस छ सधैँ टाल्न सिउँदा।
चमेराले मेरा फल जति सबै खत्तम गरे
चुबुर्कीको बुर्की वरपर जतै व्यर्थ छ छरे
नियात्रा त्यो यात्रा सहज बनियोस् है अनुजका
तयारीमा यारी सँग सँग रहुन् ती तनुजका.
मदानी झैँ दानी यदि मुलुकमा शासक भए
अधर्मी यी धर्मी सरह ठहरिन्छन् मद गए
जरायो रायोको कुटुकुटु जरा खान्छ जहिले
निरोला त्यो रोला यदि रकम नै हात नमिले ।