विवश पोखरेल नेपाली साहित्यका उल्लेख्य प्रतिभा हुन् । उनी बहुमुखी ढङ्गले साहित्य सेवामा समर्पित छन् । उनका अनिदो रात र बत्तीमा पुतलीहरू (कवितासङ्ग्रह २०५१), समय विम्ब (कथासङ्ग्रह २०५९), स्नेहअस्त्र (कथासङ्ग्रह २०६१), साँढेको दाइँ (व्यंग्यनिबन्धसङ्ग्रह २०६२) , कर्कलाको छाता ( बालकवितासङ्ग्रह, २०६३), फुच्चे भाइको घोडा ( बालकवितासङ्ग्रह २०६३) निषिद्ध बस्तीमा (२०६६) आदि कविका कृतिहरू प्रकाशित छन् । उनी विभिन्न सङ्घ संस्थाहरूमा संलग्न छन् । उनले तरङ्ग, पालुवा, नागबेली, वाणी जस्ता पत्रिका र विभिन्न कृतिहरूको सम्पादन पनि गरिसकेका छन् । पाोखरेलले अभिनय क्षेत्रमा समेत योगदान दिएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘काउसो पनि भेटिन्छ’ बोलको मुक्तक रचना समेटिएको छ । यस रचनाले जीवन यात्रामा भेटिने सङ्गत र विसङ्गत पक्षलाई देखाउने प्रयत्न भएको छ । -सम्पा. |
यात्रामा काउसो पनि भेटिन्छ, फूल पनि भेटिन्छ
भीर, पहिरो चौतारी, मन्दिर र स्कुल पनि भेटिन्छ
बर्खामा तुइन चढ्दै स्कुल हिँडेका केटाकेटीहरूसँगै
सुसाइरहेको खोला र भत्किएको पुल पनि भेटिन्छ ।