दिल पौडेल नेपाली साहित्यमा विविध ढङ्गले सक्रिय प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘जीवन हिसाब हो’ शीर्षककोे कविता समेटिएको छ ।
-सम्पा. |
कोष्ठभित्रको सरल गर
ठुलो कोष्ठ, सानो कोष्ठ, मझौला कोष्ठ
असङ्ख्य कोष्ठका चिन्ह निर्देशनमा
भुलचुक नगरी
ईच्छुक परीक्षार्थीले यसैलाई सरल गर ।
गल्ति हुन सक्दछ
अनावश्यक ठाउँमा कोष्ठ नतोड
कोष्ठ असङ्ख्य देखेर
जो कोही अत्तालिनु हुन्न
समयको घन्टी बजिरहन्छ
सधैँ सबै सचेत भई याद गर ।
हिसाबमा कस्तो– कस्तो चिन्ह गुन्य बन्दछ ?
कस्तो जोड कुनबेला शुन्य बन्दछ ?
प्राप्त अबसरमा ख्याल गर
कसैको एघारको हातलागी दुई पनि देखिन्छ
कसैको गुणनफल नब्बेको हातलागी नौ हराउँछ
जायज उत्तरमा पनि
कसैको मुल्याङ्कन यहाँ शून्य देखिन्छ ।
अन्तिम परीक्षाको समय निश्चित छैन
मृत्युपर्यन्त पनि सही उत्तर भेटिन्छ
झुक्किएर घटाउलाई भाग गर्यौं भने
गुणनफललाई भुलबस जोड गर्यौ भने
यसको सही उत्तर बाटोमै छेकिन्छ
जीवन हिसाब हो
चिन्हहरूको निर्देशनमा
कर्मजीवी सबैले हिसाब गर
र क्रमश: पुर्ण गर ।