बाबुराम न्यौपाने उत्स सिर्जना र सङ्गठनका माध्यमबाट नेपाली साहित्यलाई अगाडि बढाइरहेका प्रतिभा हुन् । उनको उपहार बन्यो आँसु शीर्षकको खण्डकाव्य कृति प्रकाशित छ । मुक्तकदेखि खण्डकाव्यसम्मको प्रकाशन यात्रा गरिसकेका उत्स मूलतः कवि प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘ए त्रसित मान्छेहरू’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मृत्युको सत्यलाई उजागर गरेको छ । -सम्पा. |
ढुक्क होउ ;
तिम्रो चिहानसम्मको
अन्तिम यात्रा रोक्ने ल्याकत
कुनै ईश्वरमा पनि छैन !!
हिडिरहु निरन्तर हिडिरहु….
जीवनको अन्तिम परिभाषा
चिहानको मट्टीले मात्र दिनसक्छ ।
ईश्वर भन्दा शक्तिशाली मृत्यु
उल्टै ईश्वरलाई
बारम्बार अवतार लिन बाध्य बनाउँछ
मृत्युको खोज बन्द गर
ऊ ! अमर र शाश्वत छ
ईश्वरका
अन्तिम एकीकृत शक्ति पनि
तिम्रो मृत्युलाई टार्न सक्ने छैनन्
मृत्युको अस्तित्व भएकैले
यो अद्भुत संसार
मनमोहक र सुन्दर लाग्छ ।
जे छैन
त्यस्को खोजमा आनन्द लेऊ
जीवनको खोज नेै
मान्छेको परम लक्ष्य बनेको छ
अमरत्व मृगमरीचिका हो
चितामा बग्ने शोकको आँधी छेक्न
हृदयको
कोलाहलमय याचना
साराका सारा व्यर्थ हुनेछन् ।
दृश्य भ्रम हो ; मृत्यु सत्य
इन्कार नगर
तिम्रो चेतनाको फैलावट सँगसँगै
आकाशको
परिधि पनि फैलन्छ – फुक्छ
सत्यको खोज जीवनको प्रकाश हो
मृत्युले
तिमीलाई निलिसकेको छ ।
“प्रेम र ज्ञान चम्कने चेतनपथमा
शान्तिपूर्ण मृत्युको
अन्तिम दृश्य मञ्चन हुन्छ “
चलिरहनेछ
सृष्टिको सुदृर साँझसम्मै
महान् शून्यमा जीवनको खोज ।
दमक, झापा