डिल्लीराज अर्याल नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको कलम कविता, आख्यान, निबन्ध र समीक्षाका क्षेत्रमा पनि चलिरहेको छ । उनको परिचय साहित्यसागरमा समेटिइसकेको र दर्जनौँ रचना प्रकाशन भइसकेका हुँदा यहाँ सारभूत परिचयसहित ‘भँवरो’ शीर्षकको कविता समेटिएको छ । यस कविताले भमरा र मानिसका कोणबाट फूलको सौन्दर्य उजागर गरिएको छ । -सम्पा. |
भवँरो म सधै पुग्छु बागमा अनि बस्दछु
सधै रस लिँदै मीठा फूलमै मख्ख बन्दछु
म सोच्छु- ‘फूलको सार रूप हो अथवा रस
टिपेर पनि मान्छेले चाख्दैन किन खै रस?’
हेर्छु मैदान वा बाग, बेसी पहाडका चुली
सोच्छु उत्तर पाउन्न मनमा बढ्छ खुल्दुली
लिएर रसको स्वाद हिडूँ, बसूँ कि यो चुमी
मजा लिऊँ बगैँचामा आनन्दले घुमीघुमी !
अहँ, निस्केन निष्कर्ष सौन्दर्य स्वादमा कुन
होला उत्तम? जानेर केही बोलेन यो मन ।
मनमा छट्पटी बढ्दै गयो तात्यो सबै तन
के गरूँ के गरूँमा नै बित्ला जस्तै भयो दिन
सोधूँ सोधूँ भयो सोधें –‘फूल रोप्नेहरूसँग-
‘मिठो सौन्दर्यको स्वाद अथवा फूलको रस?
फुलाई फूल के हेर्छौ? चुस्दैनौ रस यो किन?
के चाहिन्छ तिमीलाई रस? सुन्दरता?’ भन
सुनेर रसिलो मानी सवाल अति सुन्दर !
थाले दिन उनी यस्तो मिठासपूर्ण उत्तर-
‘म त सौन्दर्यको प्रेमी हेरेर नै रमाउँछु
सृष्टिको सार ठानेर रोप्छु बाग सजाउँछु
पूजाका निम्ति हो टिप्ने चुस्नका निम्ति होइन
गलामा, शिरमा चढ्छन् माला, गुच्छा बनीकन
भवँराको कुरा के भो आऊन्, बसून्, चुसून् रस
रोप्ने, हुर्क्याउने हामी गर्दैनौं कत्ति आह्रिस ।’
मलाई नै भने जस्तो लाग्यो सतर्क भै भनें
‘घुसेर चुस्न पर्दैन हेरेरै लिन्छु चाहिने
रस सौन्दर्यको लिन्छु, वासनामा रमाउँछु
रमी सुवासमा मीठा स्वरमा गुन्गुनाउँछु।‘
पाल्पा