हरिप्रसाद सिल्वाल सर्जक एवम् समीक्षक प्रतिभा हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौँमा प्राध्यापनरत सिलवाल प्राध्यापनसहित सिर्जना, समीक्षा, सङ्गठन र सम्पादनका बहुआयामबाट साहित्यसेवा गरिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘हावा’ शीर्षकको कविता समेटिएको छ । यस कविताले व्यङ्ग्यात्मक शैलीमा हावाले हावा खाएर सेलाएको प्रसङ्ग उद्घाटन गरिएको छ । यस कविताले झ्याउरे लयढाँचामा आजका राजनीतिक प्रशासनिक क्षेत्रहरू हावा बन्दै गएको पक्ष उद्घटन गरेको छ ।
-सम्पा. |
कहिले नयाँ हावाले मिठो सपना ल्याउँछ
कहिले भने हावाले हावा खाएर सेलाउँछ ।
हावा त चल्यो कताको चल्यो कसले चलायो
मनमा हो कि वनमा चल्यो केके पो ढलायो ?
नौनीको रोटी पकाइदिन्छु भन्दथे ‘देवता’
भोकाको पेट अघौँजी पार्ने अचम्मै ‘ममता’.
बालुवा भुटी पका’को फुल खान्छौ कि खाँदिनौ ?
हावाको तावा हावाको सेल मान्छौ कि मान्दिनौ ?
नमाने पनि हावाको जाँतो बेस्सरी घुम्दै छ
नवीन रङ पुरानो पाङ्ग्रा हावाले गुड्दै छ
हावाको झिर हावाको खिर हावाको अचार
हावामा हावा बिलाएपछि के हुन्छ विचार ?
बादलमाथि च्याउको खेती हावामा चढेर
जानुछ टिप्न हुर्कियो होला हलक्क बढेर
कहिले नयाँ हावाले मिठो सपना ल्याउँछ
कहिले भने हावाले हावा खाएर सेलाउँछ!!!