घनश्याम न्यौपाने परिश्रमी नेपाली साहित्य जगत्मा सिर्जना र समीक्षा दुवै क्षेत्रमा त्यत्तिकै सशक्त रूपमा कलम चलाउने प्रतिभा हुन् । न्यौपानेको परिचय साहित्यसागरका अघिल्ला अङ्कमा समेटिएको छ । प्रस्तुत शृङ्खलामा उनको ‘म स्वयम्’ शीर्षकको कविता समेटिएको छ । शास्त्रीय लयढाँचाअन्तर्गत भुजङ्गप्रयात छन्दमा संरचित यस कविताले ‘अहम् ब्रह्म अस्मि’ भन्ने पूर्वीय चिन्तनलाई कविताको विषयवस्तु बनाएको छ । आफूलाई चिन्न सक्नु नै ज्ञान वा चेतना हो भन्ने पक्षलाई देखाएको छ । -सम्पा. |
म भोग्दै छु मैभित्र पीडा दुखेको ।
म खोज्दै छु अस्तित्व मेरो लुकेको ।।
स्वयंबाट टाढा भएझैँ विचित्रै ।
हराएछु मैले मलाई मभित्रै ।।१
कुराबाट सिक्ने अनेकौं कुराले ।
मलाई सिकाए र बुझ् भन्न थाले ।।
मलाई नचिन्ने म कस्तो रहेछु ।
भयो ज्ञान अज्ञानमा पो रहेछु ।।२
स्वयंबाट विच्छिन्न जस्तै भएछु ।
अहंकारले, स्वार्थले टुक्रिएछु।।
मलाई जगाए छिरी चेतरश्मि ।
बुझेँ बल्ल मैले अहम् ब्रह्म अस्मि ।।३
थिए भित्र मेरा अनेकौं तरङ्ग ।
निकै भोगवादी विलासी उमङ्ग।।
यिनैले छिराए अँध्यारो कुनामा।
म मख्खै थिएँ मोजको भावनामा।।४
मलाई म चिन्दैछु बिस्तार आज-
र लाग्दै छ आफ्नै कथा भन्न लाज।।
म मान्छे हुनै पर्छ भन्ने बुझेरै ।
निहार्दै छु आदर्शमा रूप मेरै ।।५
म को कल्पना भावना होस् सबैको ।
म हाँस्दा मनोभाव हाँसोस् सबैको ।।
जसै रुन्छ कोही म कल्पेर रोऊँ ।
म एक्लै यहाँ हाँस्न खोज्ने नहोऊँ ।।६