सुशाङ्क बराल (गोपाल बराल÷रिता आचार्य बराल पुत्र) बालप्रतिभा हुन् । उनी कक्षा १० मा काञ्जीरोवा नेसनल स्कुल कोटेश्वरमा अध्ययनरत छन् । उनी विद्यालयीय पुस्तकका बाहेक पनि साहित्य रचनामा रुचि राख्छन् । साहित्यसागरको यस श्रृङ्खलामा उनको ‘सपनाका सहर’ शीर्षकको कविता समेटिएको छ । कविताले सहरको यथार्थता बताएको छ । -सम्पा. |
सुनसान लाग्छ मलाई भरिएका डगरहरू
खोलो आफैँ छुट्याइदिन्छ निर्दोष ती बगरहरू ।
सोचे जस्तो हुन्न रैछ सपनाका सहरहरू
गन्तव्यमा पुग्नु अघि मरेका छन् रहरहरू ।।
मरे तुल्य पनि हुन्छन् कति त्यस्ता प्रहरहरू
अमृत सम्झी पिएको थेँ जिन्दगीका जहरहरू ।
सोचे जस्तो हुन्न रैछ सपनाका सहरहरू
गन्तव्यमा पुग्नु अघि मरेका छन् रहरहरू ।।
आँखाबाट बग्दा रैछन् नुनिला ती पानीहरू
मुखले स्वाद पाँउदा रैछन् अलमल्ल ती नानीहरू ।
सोचेजस्तो हुन्न रैछ सपनाका सहरहरू
गन्तव्यमा पुग्नु अघि मरेका छन् रहरहरू ।।
मसान घाटले कुरिरहन्छ अनगिन्ती कहानीहरू
आगो लाउने आफ्नै हुन्छन् पखालिदिने पानीहरू ।
सोचे जस्तो हुन्न रैछ सपनाका सहरहरू
गन्तव्यमा पुग्नु अघि मरेका छन् रहरहरू ।।
कात्रो टिला जोड्दाजोड्दै छुटे कति रातहरू
बुर्की घाट जुटाइदिने छिमेकका साथहरू ।
सोचे जस्तो हुन्न रैछ सपनाका सहरहरू गन्तव्यमा पुग्नु अघि मरेका छन् रहरहरू ।।
खोलावारि आफू बसी कति लाइयो पारहरू
कुनै दिन फोटो बनी भिर्नुपर्छ हारहरू ।
सोचे जस्तो हुन्न रैछ सपनाका सहरहरू
गन्तव्यमा पुग्नु अघि मरेका छन् रहरहरू ।।
कक्षा – १०
काञ्जीरोवा नेसनल स्कुल,
कोटेश्वर, काठमाडौँ