मधुसूदन पराजुली नेपाली साहित्यमा नवप्रवेशी प्रतिभा हुन् । उनी नानिराम पराजुली र सावित्री पराजुलीका सुपुत्र हुन् । कान्तिभैरव गुरुकुल विद्यालय, गो.न.पा. ४, उत्तरवाहिनी, काठमाण्डौमा कक्षा दशमा अध्ययनरत यी प्रतिभाको साहित्यिक अभिरुचि भने गहिरो छ । यहाँ उनको ‘किसान’ शीर्षकको कविता समेटिएको छ । यस कविताले किसानको श्रमशील जीवनप्रति आदर भाव प्रकट गरेको छ ।
– सम्पा. |
धर्तीका सुन हुन् किसान जन ती मोती र चाँदी अनि
ती हाम्रा बहुमूल्य रत्नसरिका मानौँ हिरा हुन् तिनी
पानी घाम सबै खपेर सहजै हाँस्दै र नाच्दै गरी,
दिन्छन् अन्न सदाबहार सबमा माना र पाथी भरी ।।१।।
हर्छन् भोक हलो जुवा अनउले जोतेर पा–खोरिया
यस्ता सेवक पाउँदैन युगले खोजेर मिल्ने कहाँ ?
ती हुन् ईश्वर अन्न पूर्ण गर्ने सारा सुखी हुन् भनी
बाधा होस् तर हार मान्दिँन भनी खेतीतिरै धाउनी ।।२।।
खप्तै रोग र भोक शोक ननिको, रम्दै हिँडी दिन्दिन,
सारा विश्व रिझाउनेै छ सहजै, लौ है किसानी जन
यो माटो रसिलो र पोषक सधैँ पार्ने तिमी नै थियौ,
स्रष्टा हौ बिउवीजका पनि तिमी रक्षा सधैँ गर्दछौ ।।३।।
आमा हुन् जगका किसान जनता पौदा त उब्जाउने,
रोपी वीज सयौँ सिँचेर पसिना प्रसू्रति बिर्साउने ।
चुम्दै यो धरती बनाउन सधैँ लागी परेका उनै,
गर्मीमा जसरी छ शीतल दिने छाया सरिका उनै ।।४।।
को सक्ला र बयान गर्न उसको बाँचिन्छ उन्कै भर,
जो सुम्पिन्छ स्वजीवनी जगतको कल्याणका खातिर ।।
होवैनन् त किसान आज जगमा उब्जिन्छ दाना कुन
खाऔँ है सुखसाथ पोष रसिलो मिष्टान्नको भोजन ।।५।।
कक्षा – १०
कान्तिभैरव गुरुकुल विद्यालय,
गो.न.पा. ४, उत्तरवाहिनी, काठमाडौँ ।