स्पर्श भट्टराई कक्षा नौमा अध्ययनरत छात्र हुन् । ईश्वर भट्टराईर बबिता ढुङ्गेलका सुपुत्र स्पर्श युनाइटेड स्कुल, इमाडोल, ललितपुरमा कक्षा – ९ मा अध्ययनरत छन् । उनी सानै उमेरदेखि नै कविता सिर्जनामा रुचि राख्ने प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘मेरो शेश मेरो सान–मेरो देश मेरो पहिचान’ शीर्षकको कविता समेटिएको छ । यस कविताले राष्ट्रिय चेतनाको अभिव्यक्ति दिएको छ । -सम्पा. |
खोलानाला कलकलाउँदै बग्छन झरना यहाँ
सीता जन्मिन्, भृकुटी ती, बुद्ध जन्मे यहाँ ।
सगरमाथा शिरको शोभा नेपालको शान
वीर गोर्खाली अघि बढे राख्दै देशको शान ।।
अरनिको कला राम्रो विश्वमाझ पुगे
युद्धक्रान्ति अङ्ग्रेजसामु त वीर नै झुके ।
न त भोक, न त प्यास, दिनरात लडे
ठुला ठुला तोपका सामु खुकुरी लिई बढे ।।
पुर्खाहरूले जोगाएको यति राम्रो देश
बहुजाति, बहुधर्म, बहुभाषा, भेष ।
अनुशासन भरिपूर्ण संस्कार छ हाम्रो
पराइ संस्कार हाबी हुनु हुँदैन है राम्रो ।।
हिमाल, पहाड, तराईका बेग्ला बेग्लै गुण
कतै फल्छन् अन्न धेरै कतै हुन्छन् ऊन ।
अनेकतामा एकता नै हामी सबको नारा
बुद्धवाणी सन्देशलाई जप्छन् विश्व सारा ।।
विकासको मूल मन्त्र आफैँबाट जोगाऔँ
देशविकास बाधकलाई सबै मिली भगाऔँ ।
आत्मविश्वास दृढ भए नसकिने के छ ?
प्रकृतिले सम्पन्न छ मेरो प्यारो देश ।।
स्रोत साधनको सही प्रयोग बग्छ विकास धारा
देशविकास मिली गर्नु सबको अभिभारा ।
श्रम सिकौँ, सिप सिकौँ देशमै लगाऔँ
मेरो देश, मेरो शान चेतना जगाऔँ ।।
हिमाल, पहाड, तराई एक कसले तोड्न सक्छ ?
विकासको मूल फुटे कसले मोड्न सक्छ ?
देशको लागि गर्छु भनी आज सपथ खाऔँ
नेपाली भई आफ्नै देशको गीत गुनगुनाऔँ ।।
कक्षा – ९
युनाइटेड स्कुल,
इमाडोल, ललितपुर