ऋचा खड्का कक्षा दशमा अध्ययनरत छात्रा हुन् रेशम खड्का र कृपा खड्काकी सुपुत्री ऋचा नेक्सस् स्कुल, पेप्सीकोला, काठमाडौँको कक्षा दशमा पढिरहेकी छन् । उनले विद्यालय र अतरविद्यालयका प्रतियोगिता जितिसकेकी छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘म आमा बन्दैछु’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मातृशक्ति र देशभक्तिको महिमागान गरेको छ । – सम्पा. |
रसुवाको निर्विकार सौन्दर्यमा
रसियाको समृद्धि थपक्क थप्नु छ
ओखलढुंगाका उकाली ओरालीहरूमा
अमेरिकाको उन्नति उमार्नु छ
नेपालगन्जका नयाँ बस्तीहरूमा
नर्वे र न्युजिल्यान्डका
प्रगतिरूपी आलोकले धपक्क बाल्नु छ
कर्णालीका कुना कन्दराहरूमा
क्यानाडाको विकास फुलाउनु छ
मेरा यी सपना साकार पार्ने
एउटा असल सपूत जन्माउन
ली क्वान र मण्डेलाहरूलाई
म आफ्नो गर्भमा राख्दै छु
अब म आमा बन्दै छु ।।
–१–
द्वन्द्वका दर्दनाक पीडाले
पिल्सिएका परेलीहरूमा
आनन्दका आभाहरू छर्नु छ
बन्दुकका नालबाट
परिवर्तनका सम्भावना खोज्नेहरूमा
मादलुको तालबाट चेतना जगाउनु छ
असरल्ल छरिएका अशान्त वातावरणलाई
बेलैमा वाग्मतीमा बिसर्जन गर्नु छ
लाखौं निर्मलाका नयनहरूमा
न्यायको ननिभ्ने दीप निर्माण गर्नु छ
सदाचार, समता र सद्भावका स्वरहरू
बस्ती बस्तीबाट उराल्नु छ
मेरा यी जपना यथार्थमा रूपान्तरण गर्ने
एउटा न्यायिक सपूत जन्माउन
सिद्ध पुरुष बुद्ध
अनि महात्मा गान्धीहरूलाई
म आफ्नो गर्भमा राख्दै छु
अब म आमा बन्दै छु
–२–
शैलुङको शेर्पालाई
सलहेसको फुलबारीमा
साइनो गास्न बोलाउनु छ
पूर्वकी पारुहाङलाई
पश्चिममा पुज्न लगाउनु छ
फेरि एकपटक
जनकको प्राज्ञिक सभाले
जनकपुरलाई जाज्वल्यमान बनाउनु छ
खाडीमा खन्याइरहेका
बलभद्रका बलहरूले
स्वदेश सुवासित पार्नु छ
अमरका आत्मा र भक्तिका शक्तिहरू
देश नवनिर्माणको यात्रामा खर्चिनु छ
आफ्नै घरको बार्दलीबाट
तप्प तप्प चुहिएका
दुःखका ससाना प्वालहरू टाल्ने
अनेकौं असमानताका
पाखण्ड परिवेशहरू पुर्दै
सर्वत्र क्रान्तिको ज्वाला बाल्ने
एउटा सच्चा राष्ट्रसेवक जन्माउन
म आफ्नो गर्भमा भीमसेन थापाहरू राख्दै छु
अब म आमा बन्दै छु
अब म आमा बन्दै छु ।।
–३–
कक्षा – १०
नेक्सस् स्कुल,
पेप्सीकोला, काठमाडौँ