डा. राजेन्द्र विमल बहुभाषामा बहुविधामा कलम चलाउने विशिष्ट प्रतिभा हुन् । उनको कलम कविता आख्यान, निबन्ध र अन्य विधामा पनि त्यत्तिकै चलिरहेको छ । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको रचनागर्भ शीर्षकको कविता समेटिएको छ । यस कविताले सामाजिक वर्गीय समस्या र अभावका साथै राष्ट्रिय चेतना अभिव्यक्त गरेको छ । -सम्पा. |
भोक र भातको लुकामारी चल्छ मेरो बस्तीमा,
यहाँ भात हुनेलाई भोक छैन
भोक हुनेलाई भात छैन
भोक र भातको अनुबन्धलाई
प्रतिरोध गरेको छ
भात नहुनेको रगत खाएर
ढाडिएका, सल्बलाउँदा जुकाहरूले
भातले पेट टम्म भरिएपछि
खेत बाँझो रहने आशङ्कामा
भोकले कलेंटी परेका ओठमा
भोटे ताल्चा मारेका छन्
भात हुनेहरूले !
तर,आउँदैछन् ती दिन
जब प्रत्येक घरमा पाक्ने छ भात
र
प्रत्येक पेटमा हुने छ भोक !
—
उड्दैछ कालो चिलझैं काल
तीव्रतम म वेगमा
चाँडै अँध्यारो हुने छ र कालले मलाई लिएर
पुग्नेछ क्षितिजपारि,
कुनै अज्ञात लोकमा बिलाउने छु म,
तर, मैले कालका केही सुनौला प्वाँखहरू
चोइट्याएर/चोरेर साँचेको छु
युग युगसम्म
इतिहासले तिनलाई
श्रीपेच बनाएर सजाउने छ शिरमा
र
मेरा सन्ततिहरूले तिनलाई
हाम्रो पुर्खाको सृष्टि भनेर
गर्व गर्ने छन् !!..