प्रह्लाद पोखरेल आफ्नो पुस्ताका विशिष्ट कवि प्रतिभा हुन् । साहित्यसागरमा उनको परिचय समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘बहुमत’ शीर्षकको कविता समेटिएको छ । कविताले निरपेक्ष शक्ति तानाशाह जन्माउने माध्यम हुनेसक्ने र बोली मात्र बोलेर नहुने कुरा बताएको छ ।
-सम्पा |
१
जो मान्छे पुग्छ पक्कासित बहुमतमा पर्छ गम्भीर बन्नु
ज्यादा उत्ताउलो वा अधिक बकबके व्यक्ति बन्दै नबन्नू
आफ्नो आदर्श सच्चा छवि बहुमतको शान्तिको पक्षलाई
गर्दा पक्कै जगेर्ना अवसर गतिलो मिल्छ, होला भलाइ !
२
जल्ले गर्दैन रक्षा जब बहुमतको मात लागेर किन्तु
के टिक्थ्यो कार्यशैली पनि फगत बने शुद्ध ओठे परन्तु !
ओठेको कार्य, भाषा, लबज जब सुन्यो अर्थ अर्कै बुझिन्छ
छोप्ला गुप्ताङ्ग जम्मै प्रकट तर भने ह्वाङ्ग सर्वाङ्ग हुन्छ !