प्रेम वली ढकलपुरे (दाङ, ढकलपुर) नेपाली साहित्य र शिक्षासेवामा समर्पित प्रतिभा हुन् । दाङ मूल थलो भए पनि हाल घट्टेकुलो काठमाडौँमा बासोबास गर्दै आएका यी प्रतिभा निजी विद्यालयको सञ्चालक भएर काम गरिरहेका छन् । उनी कविताका साथै हास्यब्यङ्ग्य विधामा तीन दशकदेखि कलम चलाउँदै आएका छन् । उनका पुस्तकाकार कृति प्रकाशन नभए पनि विभिन्न विधाका दर्जनौँ लेख रचना पत्रपत्रिकामा प्रकाशित छन् । यहाँ उनको ‘घोर्ले राजको सपना’ शीर्षकको कविता समेटिएको छ । यस कविताले लोकतान्त्रिक व्यवस्थापनमा राजाकै चालढाल रहेकाप्रति व्यङ्ग्य गरेको छ । -सम्पा. |
राजालाई फालेपछि यो देशमा
घोर्ले राजाहरू आए
अरूले धान मकै बेचेर खाए
घोर्ले राजाहरू यति बाठा कि
जनताका सपना पहिल्याएर
छानी छानी सपना बेचेर खाए ।
जनताका सपना बेचेर
कति घोर्ले राजाले
झुपडी भत्काएर दरबार बनाए
कतिले प्राडो पजेरोको घरबार बनाए ।
हामी त्यही सपनामा डुबेर आजसम्म
घोर्ले राजाहरूको जयजयकार गर्दैछौँ
तीनैको लागि सहिद भएर मर्दैछौँ
घोर्ले राजाहरूले
स्याललाई हात्ती भने हामीले मान्यौ
हाम्रो देशलाई
सिङगापुर बनाइदिन्छौ भने हामीले मान्यौ
अझै घोर्ले राजाहरूको सपनामा डुबेर
कोही पानीजहाज चड्दैछौँ
यो नाम त्यो नामको लागि आपसमा लड्दैछौँ
हामी यति घोर्ले भक्त भएछौँ कि
त्यही सपनामा डुबेर
घोर्ले राजाहरूको जयजयकार मनाउँदैछौँ
यिनै घोर्लेहरूलाई झन् शक्तिशाली बनाउँदैछौ ।
ढकलपुर, दाङ
हाल ,काठमाडौँ