कृष्ण सुदामा समकालीन पुस्ताका सशक्त कविप्रतिभा हुन् । नयाँवर्ष विशेष शृङ्खलामा उनको ‘नववर्ष’ शीर्षकको कविता समेटिएको छ । यस कविताले विविध सन्दर्भलाई विषय र विम्ब बनाई नववर्षको शुभकामना दिएको छ । -सम्पा. |
भित्ताको क्यालेन्डर पुनः फेरिएको छ
फेर्नु छ– मनको
इमानको
जमानको पात्रो
मै खाउँ मै लाउँको म्याराथन छ यत्रतत्र
सामेल हुनु छ पदयात्रामा
सेवा
सद्भाव र
मानवताको
बतासको स्पर्श उही छ
आकाशको फैलावट दुरुस्त छ
अग्लिएका छन् भवनहरू
होचिएका छन् मनहरू
विचारको मदानीमा खिया लाग्दैछ
आचारको कन्दनी जीर्ण बन्दैछ
न त आमाको आँखामा आँसु सुक्यो
न बाको टाउको हलुङ्गियो ऋृणको बोझ घटेर
भाइको दुखेसो ज्युँका त्युँ छ
वर्षौं भयो दाजु र दिदी मुग्लानिएको
बहिनी निश्चिन्त छैन भविष्यप्रति
छोराछोरीहरू माटो आँटो र बाटो भुल्दैछन्
घाउ आलै छन्
दाउ ताजै छन्
पृथ्वी घुमिरहेछ
भाले बासिरहेछ
दिनपछि रात
रातपछि दिन
नयाँ वर्ष टुप्लुकिएको छ घर आँगनमा
त्रास तर्सियोस्
आशा र भरोसा बर्सियोस्
सपनाका बिस्कुन सुकून् मनभरि
सन्तोकको रक्तसञ्चार होस् तनभरि
तब न अपार हर्ष तब न नववर्ष ……!