बिन्दु दाहाल मुकदर्शन मोफसलमा रहेर निरन्तर साधनारत प्रतिभा हुन् । शिक्षा र साहित्यमा समर्पित यी प्रतिभाको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको ‘नयाँवर्ष’ शीर्षकको कविता समेटिएको छ । यस कविताले नयाँवर्षले सबैलाई अथाडि बढ्न र माथि उठ्न अभिप्रेरित गरोस् भन्ने कामना गरेको छ । -सम्पा. |
नयाँ वर्षले जोस ल्याओस् उमङ्ग
सबै हुन् रमाई खुसीसाथ दङ्ग
लता मञ्जरीले धरा मुस्कुराओस्
प्रभाको उज्यालो सखारै उदाओस् ।
हटोस् भोक तिर्खा व्यथा मर्म पीडा
सधैँ जिन्दगीले गरोस् मग्न क्रिडा
फुलुन् पुष्प उद्यानमा नित्य नौला
दुखीका कथा हुन् सुनौलै सुनौला ।
चढी व्योम छोउन् उँभो टाकुरामा
बसुन् भृङ्ग मौरी मुना आँकुरामा
बहोस् शान्त हावा लिई काव्य धारा
नयाँ सिर्जना हुन् सबैका सहारा ।
हटुन् सूक्ष्म काँढा नघोचुन् दुखाई
गरून् बात मान्छे अझै धौ फुकाई
नदीका भँगाला सबै सङ्लिउन् ती
उचा शैलमाला अझै अग्लिउन् ती ।
फिरुन् देश सम्झी युवाका जमात
झरे गर्त कोही दिऊन् तान्न हात
नहुन् घात चिन्ता बलात्कार चेली
नयाँ वर्षमा होस् धरा यो भरेली ।