जीवनहरि शर्मा मोफसलमा रहेर निरन्तर कविता साधना गरिरहेका प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत श्रृङ्खलामा उनको ‘नयाँवर्ष’ शीर्षकको कविता समेटिएको छ । यो कविता भुजङ्गप्रयात छन्दमा संरचित छ । यस कविताले नयाँवर्षले पुराना थोत्रा कमजोरीहरूको विनास गर्दै नयाँ मूल्य र सामथ्र्यको स्थापना गरोस् भन्ने सन्देश दिएको छ ।
-सम्पा. |
हटुन् रुग्ण थोत्रा मकाई तमाम
सबै माझ आऊन् नयाँ ती बिहान
धराले दिइन् कोपिला पुष्प दान
नयाँ वर्षले एक ल्याओस् विधान ।
खटून् सत्यवादी भरोसा लिएर
पढून् न्यायका वाक्य आफैँ चिनेर
बसून् देशको चिन्तनामा डुबेर
नयाँ वृक्षका आँकुराझैँ खुलेर ।
हटाऊन् गफी खन्चुवा हन्तकाली
मिचाहा अटेरी भगाऊन् दलाली
घुस्याहा भुस्याहा हिँडुन् जाल झेली
नयाँ वर्ष आओस् सबै कष्ट फाली ।
युवा फर्किऊन् देशमा काम गर्न
झुटा नक्कली बिग्रिएका सपार्न
अवस्स्था व्यवस्था दुवै पर्छ फेर्न
नयाँ वर्ष होस् प्रेरणा शान्ति छर्न ।
धरा यी सुसाइन् नयाँ सोच ल्याइन्
लता कुञ्जमा पुष्प बास्ना पुर्याइन्
उता व्योममा ताप धेरै फिजाइन्
यता मृत्तिका बीजले मुस्कुराइन् ।
मुसा वा छुचुन्द्रा दुलोभित्र जाऊन्
परेवा भँगेरा यता चर्न आऊन्
हटून् भोक तिर्खा बिरामी निको हुन्
नयाँ वर्ष यो जून जस्तै उदाऊन् ।
इलाम