मुकुन्द शर्मा विशिष्ट स्रष्टा एवम् अनुवादक प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित नयाँवर्ष विषयक कविता समेटिएको छ । यस कविताले मानव र लोकको कल्याण कामना गरेको छ ।
-सम्पा. |
रात्री गयो, तिमिर पश्चिममा हरायो
प्राची खुल्यो अरूणको अवभास छायो
निद्रा हटेर नव चेतन सल्बलायो
वैशाखको दिवस नूतन आज आयो ।
आकाशका अमरका कविता बनेर
आए सयौँ विहगवृन्द कि ता मनेर
त्यो चुन्न झैं कलम शायद जुर्मुरायो
वैशाखको दिवस नूतन आज आयो ।
देखा प¥यो वदन रम्य उषा सखीको
पाएर यो मधुरता छ म झैँ सुखी को ?
यै हेर्न हो कि रवि अम्बरमा उदायो
वैशाखको दिवस नूतन आज आयो ।
आयो यहाँ नवल पिङ्गल नामबाला
आओस् यहाँ नवयुगीन कथा निराला
यस्तै भनेर कि त पल्लव फर्फरायो
वैशाखको दिवस नूतन आज आयो ।
शिक्षा सुशासन समृद्धि समेलिएर
आऊन् अगाडितिर सार्थकता लिएर
लालीगुराँस यति भन्न कि मुस्कुरायो
वैशाखको दिवस नूतन आज आयो ।
टाढा गएन अझ घोर बतास जो हो
आएन कुन्नि किन कोकिलकण्ठ कोहो ?
दुर्दान्त ऐठन छँदै बिपना उदायो
वैशाखको दिवस नूतन आज आयो ।
भागून् सबै कठिनता, शुभभाव आऊन्
विद्वेषदायक कुनायक जेल जाऊन् ।
यो भन्न झैं मलय मारुत मर्मरायो
वैशाखको दिवस नूतन आज आयो ।