उषा बस्ताकोटी खनाल (रामपुर न. पा –३, पाल्पा) शिक्षण पेसाबाट निवृत्त हुन् । निवृत्त शिक्षक हाल स्वतन्त्र रूपमा लेखिरहेकी छन् । उनले एम एड (अङ्ग्रेजी) गरेकी खनाल नेपाली स्वअध्ययन र लेखनमा सक्रिय छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘ऋतुराजमा नमोनम’ शीर्षकको कविता समेटिएको छ । यस कविताले वसन्त ऋतुका महिमागायन गरेको छ ।
-सम्पा. |
शिशिर लस्त बनेछ विदा लियो
प्रिय वसन्त मनोहर तङ्ग्रियो
तब चढ्यो तरुमा नवयौवन
ललित दौलतयुक्त भयो वन ।। १
पवन पावन सौरभ छर्दछ
हरित दृश्य सुधा–रस भर्दछ
सलिल निर्मल भूषित निम्नगा
शमित छन् पिउँदै वसुधा–सुधा ।।२
कुसुमसज्जित काननमा बसी
मुदित कोकिल सोध्दछन् को हो भनी ।
वनज धीरज कोकिलको रव
सुमनका मन मोहित पार्दछ ।।३
कुसुम छन् प्रमदा मृदु यौवना
तृषित भृङ्ग गरेर टुनामुना ।
झुनझुनाउँछ झुम्म बनी झुमी
प्रणयले मृदुपत्र चुमी चुमी ।। ४
कुसुम कुड्मलले मृदु पर्णले
पवन–सौरभले पिक–नादले ।
समधनाधिप छन् वन कन्दरा
चहकिलो सुरदेश भयो धरा ।।५
कुसुम पल्लवसाथ अँगालिँदै
सृजन सुन्दरबाट पगालिँदै ।
प्रिय वसन्त झुमी खुब नाच्दछ
प्रकृतिको मुटुमा नटराजझैँ ।।६
विपिन कुञ्जल वाग हरा घुमी
हरमनोहर पुष्प लता चुमी
पवनले मधुमास घुमाउँछ
महक–मन्द मिठास पिलाउँछ ।। ७
जब बढ्यो रविको सुषमा–बल
तब भयो कुहिरो पनि निर्बल ।
क्षितिजपारि छ बादलको दल
नभ निहार्छ खुली भव उज्ज्वल ।।८
रसिक यो ऋतुराज– सुराजले
मुदित पार्दछ चित्त सुभावले ।
प्रमददायक यो ऋतुराजमा
शिर झुकाउँछु भन्छु नमोनमः ।९