सीता भट्टराईको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलमा उनको ‘लेखेरै मर्नुपर्दछ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले सिर्जनाकर्मी वा कलाकर्मीले निरन्तर आफ्ना काममा लागिरहन र आफ्नो काममा रमाउन सक्नुपर्छ भन्ने सन्देश दिएको छ ।
-सम्पा. |
सकेसम्म रमाएर कर्म नै गर्नु पर्दछ
सृजना बिजका दाना सृष्टिमा छर्नुपर्दछ
नपढ्ने नपढुन् के भो लेख्नेले लेख्नुपर्दछ
नाम दाम जता जे होस् लेखेरै रम्नुपर्दछ .
कविको काम हो लेख्नु नलेख्दा भाव मर्दछ
अरुको भावना बुझ्दै आफ्नो नि खोल्नु पर्दछ
हिंडेर नुपगे के भो विमानै चढ्नु पर्दछ
नबोली बस्छ जो मान्छे बोलाई सोध्नुपर्दछ .
के भयो कसरी हुन्छ ? जान्नुचैँ पर्छ ती कुरा
जानेको जति छन् सत्य ती बन्छन् अति नै छुरा
कुरो, कुलो जहाँ जाओस् नदी भै बग्नुपर्दछ
पत्कर भेटिए हिंड्दा पाखामा फाल्नु पर्दछ.
अँध्यारो फाल्नका निम्ति बत्ती नै बाल्नु पर्दछ
उद्देश्य, लक्ष्यमा पुग्न गन्तव्य चिन्नुपर्दछ
लगाउन् बाँध वा बार नागेरै हिंड्नुपर्दछ
नाम, दाम जता जे होस् लेखेरै रम्नुपर्दछ !