गोविन्द विनोदी नेपाली साहित्य परम्परामा मुक्तकदेखि महाकाव्यसम्म रचना गर्ने विशिष्ट प्रतिभा हुन् । उनका दर्जनौँ कृतिहरू प्रकाशित छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको हुँदा यहाँ सारभूत परिचयसहित उनको ‘विनोदीलाई सुझाव’ शीर्षकको कविता समेटिएको छ । यस कविताले आत्मशुद्धिको सन्देश दिएको छ । कविले आफैलाई आफैले सुझाव दिएको भाषामा यस कविताले मूल विचार अभिव्यक्त गरेको छ ।
-सम्पा. |
सबै मान्छेहरूलाई आत्मवत् हुन् भनेर सोच्
सबैका चेतनाभित्र तँ आफ्नो अपनत्व खोज्
सबैले सजिलै बुझ्ने भाषा हो प्रेम एउटै
बोलेर प्रेमको भाषा गोरेटो ज्यूनुको तँ रोज्
मीठो बोल् तँ सबैलाई वचनामृतले भिजा
आत्मसौन्दर्यको आभा सबैका माझमा फिँजा
आस्थावान् बन् सबै धर्मप्रति सद्भाव राखिदे
कर्म गर् कर्म गर् आफ्नै श्रमको फल चाखिदे
सेवाको भावना बोकी हिँड् सेवक बनेर तँ
नसोच् जीवनमा कैल्यै हुँ मालिक भनेर तँ
परोपकारमै आफ्नो जिन्दगानी तँ अर्पिदे
दुःखीका म्लान मुद्रामा भई मुस्कान बर्सिदे
निराशा हैन आशाको, घृणाको हैन प्रेमको
अविद्या हैन विद्याको, निशा हैन प्रभातको
निष्ठा, दायित्व, विश्वास, भरोसाको तँ पात्र बन्
गुरु मान् जिन्दगीलाई आफू जिज्ञासु छात्र बन्
दुःख, पीडा दिनेलाई पनि माफी दिएर हिँड्
तिनबाट लिई शिक्षा पीर(बाधा पिएर हिँड्
पाए संस्कार जे(जस्तो त्यस्तै कर्म गरे भनी
बुझा चित्त, तँ सुन् आफ्नै आत्माको अमरध्वनि
तँ ठान् जीवनमा तेरो साक्षी भै मृत्यु बस्तछ
थाहा छैन कहाँ कैले आई लुसुक्क डस्तछ
विनोदी १ वीतरागी बन् बाटो कल्याणको समा
छाडी सञ्चयको मोह त्याग(उद्यानमा रमा ।