निर्मोही व्यासको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी नेपाली साहित्यका विशिष्ट स्रष्टा एवम् द्रष्टा हुन् । प्रस्तुत शृङ्खलामा उनको जिन्दगीको वर्णमाला’ शीर्षकको कविता समेटिएको छ । यस कविताले जीवनको अर्थ खोज्ने प्रयत्न गरेको छ ।
-सम्पा. |
झरेको फूल सम्झेर काट्न गाह्रो छ जिन्दगी
फक्रेको फूलका साथ साट्न गाह्रो छ जिन्दगी
बाटेझैँ प्रीतिको डोरी बाट्न गाह्रो छ जिन्दगी
ढाँटेझैँ दुनियाँलाई ढाँट्न गाह्रो छ जिन्दगी ।
०
कसैलाई यहीँ अग्लो स्वर्णको दरबार छ
कसैलाई यहीँ ओत्न छाप्रोको दरकार छ
कसैलाई यहीँ जून चुम्न जाने हतार छ
कसैलाई यहीँ ज्यून यन्त्रणा नै हजार छ ।
०
नखाऊँ, कष्टले ठूलो पाइएको शिकार छ
खाऊँ, दुरुस्त नै कान्छा–बाबुको अनुहार छ
जिन्दगी हो उही किन्तु कसैलाई प्रहार छ
कसैलाई यही फेरि अमूल्य उपहार छ ।
०
‘हाँसोको चाँदनी थोरै छ धेरै आँसुको झरी’
बिपना सपनाजस्तो सपना बिपनासरि
किन हो फूलको भन्दा काँडाको सामना बढी ?
जिल्लिन्छु जिन्दगानीको वर्णमाला पढीपढी ।
०
घोत्लिऊँ जत्ति पाउन्न मेरो यो प्रश्नको हल
जिन्दगी बुझ्न गाह्रो छ लगाएर मुढेबल
बुझ्यो जत्ति अझै बुझ्न बाँकी दोब्बर तेब्बर
ए जिन्दगी ! तँ आफैँ दे मलाई स्पष्ट उत्तर ।