दुष्यन्त भट्टराईको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी प्रवासमा रहेर नेपाली भषा साहित्यका सेवामा समर्पित प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा ‘बस्ने भए’ शीर्षकको कविता समेटिएको छ । यस कविताले राजनीतिक विसङ्गतिप्रति व्यङ्ग्य गरेको छ । कविताको शास्त्रीय कविता सिर्जन कला निकै लोभलाग्दो छ । -सम्पा. |
सत्ताको रस तप्प झर्दछ भने चाटेर बस्ने भए
सत्ता बाहिर बस्नु पर्दछ भने फाटेर बस्ने भए
सक्दैनन् हतियारले वचनले काटेर बस्ने भए
पालोमा पद बार-बार गफिँदै साटेर बस्ने भए ॥१॥
सत्तामा मतभिन्नता म त कता छानेर बस्ने भए
आफू बस्न नपाउँदा झगडिया हानेर बस्ने भए
आफू मात्र छु सत्यको प्रतिक झैँ ठानेर बस्ने भए
बाँकी हुन् सब झूटका तृण भनी मानेर बस्ने भए ॥२॥
आफ्नो चाह हुँदैन पूर्ण यदि ता छेकेर बस्ने भए
अर्काको भर माथि चढ्दछु भनी टेकेर बस्ने भए
गर्ने काम तमाम गर्न नदिई रोकेर बस्ने भए
मात्रै भाषणमा समुन्नत भनी खोकेर बस्ने भए ॥३॥
पोलापोल गरेर गोप्य सबका खोलेर बस्ने भए
नौलो झोल बनाउँदै वचनका घोलेर बस्ने भए
सारा द्वार गरेर बन्द घरको ठेलेर बस्ने भए
स्वार्थी सङ्गतले सधैँ मुलुक यो पेलेर बस्ने भए ॥४॥
स्वाँठै स्वाँठहरू इँजार चुँडियोस् नाँचेर बस्ने भए
अर्कामा कु-कुरी गरी कपुत यी हाँसेर बस्ने भए
जो हो मान कमान शान घरको ठोकेर बस्ने भए
पारी देश अचार हर्ष मनमा बोकेर बस्ने भए ॥५॥
अनि हामी जनता……
हामी नै भगवान हौँ मुलुक यो हो स्वर्ग झैँ मन्दिर
हाम्रो भाग्य बनाउदैन दुनियाँ आसे भयौँ खै तर
हाम्रा पूर्वजका धरोहर सबै नास्यौँ बन्यौँ निर्धन
अर्काको भर पर्न खप्पिस हुँदै बित्ने भयो जीवन ॥६॥