मुकुन्द शर्मा विशिष्ट स्रष्टा एवम् अनुवादक हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘हाम्रो जुनी उत्तम’ शीर्षकको कविता समेटिएको छ । शास्त्रीय लयढाँचाअन्तर्गत शार्दूलविक्रीडित छन्दमा संरचित प्रस्तुत कविताले मानव जीवनको महत्त्वलाई उजागर गरेको छ ।
-सम्पा. |
हाम्रो जीवन जानियो अमृतको सन्तानको रूपमा
मानौँ मन्दिरमा समर्पित हुने बास्ना मिठो धूपमा
यो चारैतिर मग्मगाइरहने आजन्म उल्लासमा
यस्तो लाग्दछ देव–दुर्लभ जुनी पायौँ अनायासमा
श्रद्धा–साधित शास्त्रले प्रविधिले विज्ञानले ज्ञानले
हामी उत्तम मानियौँ भुवनमा साहित्यका शानले
खेती उद्यम शिल्प–साधनसितै सङ्गीत आराधना
हामीबाट यिनै तरङ्गित भए उत्थानका साधना
मान्छेको अनमोल जीवन भनी भन्छन् मनस्वी कति
लिन्छन् ध्यान दिई दिनानुदिन ती सत्कर्मका पद्धति
बाँकी भूल भगाउँदै प्रगतिका सोपान चढ्दै रही
चोला धन्य बनाउँछन् र जसले साभार बन्छिन् मही !
जाली तर्क लिएर नर्क–पथ नै गन्तव्य सम्झीकन
कोही छन् तर भद्रगोल मतिका उल्टो कुदेका जन
पर्छन् सज्जनका अघिल्तिर तिनै देखिन्छ फाटो अनि
सोही हेतु हुने लडाइँ झगडा आघात खाटो पनि !
यस्तै हाल लिएर काल–गतिका आए अनेकौँ क्रम
जस्तो सत्य छ सूर्य झैँ चहकिलो उस्तै छ कालो भ्रम
एकार्कासित पर्छ टक्कर सदा चल्छन् महाभारत
हुन्छन् पाण्डव–कौरवोपम यहाँ मान्छेहरू वस्तुतः !
हाम्रो जीवन हो सबै तरहले सम्भावनाको घर
राम्रो भाव लिऔँ र दुर्गुणहरू सारा हटाऔँ पर
आफू सप्रिरहौँ अरूकन दिऔँ सत्प्रेरणाको दम
होला बल्ल समग्र विश्वभरमा हाम्रो जुनी उत्तम !!