चन्द्रमणि अधिकारी तनहुँमा रहेर साहित्य साधना गरिरहेका प्रतिभा हुन् । उनीसँग शास्त्रीय लयमा सिर्जना गर्न सक्ने अद्भूत आशुकवित्व छ । साहित्यसागरमा उनको ‘एक्लो यात्री म छु’ शीर्षकको कविता समेटिएको छ । शास्त्रीय लयढाँचाअन्तर्गत मन्दाक्रान्ता छन्दमा संरचित यस कविताले एक्लो यात्रामा निस्किएका व्यक्तिले सबैको साथ चाहने र कसैको साथ नचाहने पक्षलाई समेटेको छ । -सम्पा. |
को होला यो मन मगजमा ढाक्न सक्ने सुनामी
आस्था चोखोसित विनयमा प्रेममा दूरगामी
आफ्नै ठान्ने सब किसिमले प्रेरणा तत्वदर्शी
एक्लो यात्री म छु विनयमा प्रेम गर्ने महर्षि
चाहेको हो अमर प्रतिभा चिन्न म सकूँ
कुनै वैरी छैनन्, छलकपट मिले भिड्न म सकूँ
गरूँ सेवा सङ्लो मन हृदय यो अर्पण गरी
सकूँ आस्था पार्नै गहन सजिलो दर्पणसरि
छु खेदो पो खन्ने, कपट शठता व्याप्त छ जुन
म नाता गोताको असर बलियो मान्दछु घुन
निकालेको हौंला असल मति गाढा तवरले
छु नाघेको बन्ने कहर कटुता झन् रहरले
म आफ्नै आस्थामा सबल छु हुने स्वस्थ सुकिलो
सबै राम्रा हाम्रा धवल मति मान्ने चहकिलो
सबैमा श्रद्धाको सुमन गरिने न्याय सुविधा
छु फालेको बन्ने सरस, सब बाधा असुविधा
छु लेखेको सादा सरल कवितामा बचपन
बनाएको स्वेच्छा अवतरित सच्चा कविमन
नजानेको ईर्ष्या अचम मनमा मान्री ममता
छु चाहेको सङ्लो नियत कलिलो स्वस्थ समता ।