नुमराज बरालको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा सारभूत परिचयसहित उनको ‘गाउँ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले गाउँका समस्याहरूलाई जीवन्त रूपमा अभिव्यक्त गरिएको छ । -सम्पा. |
उठे सबै गाउँ उठिन्छ हामी
जुटे सबै गाउँ जुटिन्छ हामी
बने सबै गाउँ बनिन्छ हामी
संसारमै सभ्य गनिन्छ हामी॥
हिमालले शोभित गाउँ राम्रा
हराभरा सुन्दर ठाउँ राम्रा
विज्ञानले चट्ट सजाउने हो
विदेशमात्रै कति धाउने हो ?
थाले कुनै मानिस आज झर्न
हराभरा उर्वर फाँट भर्न
छन् माकुराका घरभित्र जाला
नहान आफ्नै मुटुभित्र भाला॥
छ उम्रिएको घरनेर गन्ने
सोचाइ होस् गाउँ बनाउँ भन्ने
छन् मार्ग चिल्ला, तर छैन मान्छे
बिग्र्यौँ नि राम्रा नभएर भान्छे॥
छन् पाठशाला तर स्वच्छ छैनन्
पढाउने शिक्षक दक्ष छैनन्
पढाउँछन् बोर्डिङमा लगेर
जाँदै छ पैसा जनको बगेर॥
न स्वास्थ्यचौकी न छ स्वच्छ पानी
लुटेर जान्छन्, कतिले जवानी
देखेर यी दुःख चिरिन्छ छाती
हे भाइ हो! गाउँ उचाल माथि॥
छ जो झरीले दिनहुँ रुझेको
माटो र बाटो दुइटै बुझेको
बिहानको सुन्दर घाम जस्तो
नेतृत्व हाम्रो हुनुपर्छ यस्तो॥