राजु पाठक प्रवाशमा बसेर साहित्यसेवामा समर्पित प्रतिभा हुन् । उनी भारतको कोलकतामा बसेर साहित्यसेवा गरिरहेका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको हुँदा उनको सारभूत परिचयसहित ‘भर्खर जन्मेको शिशु’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मातृत्वका पक्षमा आवाज उठाएको छ । -सम्पा. |
म त भर्खर जन्मेको शिशु
जन्मने बित्तिकै चर्चा चल्दैछ
मलाई कसले जन्माएको
आमाले कि भगवान्ले ?
आमा भन्नुहुन्छ
नौ महिना कोखमा सम्हाल्दै
जन्माउँदाको पीडा सहेर
सबैलाई खुसी दिँदै र हँसाउँदै
आफ्नो दर्दमा आनन्द महसुस गर्दै
मैले जन्माएको ।
मलाई पनि
आमाको कुरा ठिकै लाग्यो
म पनि त प्रत्यक्षदर्शी हूँ
यो घटनाको
आमा त मलाई थाहा भयो
तर यो भगवान् को हो ?
म त भर्खर जन्मेको शिशु
मेरो मन, मस्तिष्कमा
कल्पनाका बिजहरू रोपिँदैछन्
यथार्थ, सत्यलाई अस्वीकार गर्ने
विषालु वाणहरू घोपिदैछन्
म त भर्खर जन्मेको शिशु ।