शिवकुमार जैशीको परिचय साहित्यसागरका विभिन्न अङ्कमा समेटिइसकेको छ । उनी नेपाली साहित्यमा आख्यान र कविता विधामा कलम चलाइरहेका छन् । उनको कलम समीक्षा र निबन्ध विधामा पनि चलिरहेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको नगर झगडा शीर्षकको कविता समेटिएको छ । यस कविताले राजनीतिमा नेताहरूको मेल वा फुटमा आपसी झगडा गर्नु वेकार छ भन्ने कुरा लेखाइएको छ । -सम्पा. |
नगर है गाउँलेहरू
हित्तचित्तका एक दाउलेहरू
साँध र सँधियारवालाहरू
मामा र फुपू चेलाहरू
धारा पानी पँधेरामा
घाम, जुन र अँध्यारामा
खेतवारी र मेला पातमा
साना ठुला बातमा
रक्सी र जुवाका खालमा
पार्टी र झण्डाका तालमा
गर्दै नगर लफडा दाजुभाइ दिदी बहिनीका साथमा
गर्दै नगर झगडा सानाठुला मिलिजुली बसेका थातमा ।
भर नपर टुप्पामाथिको
छानेर बुझ कुरा उपल्लाका साथीको
के गर्छन् माथिका, के थाहा ?
दिनदिन र छिनछिनमा
आआफ्ना मनका धुनमा ।
सिद्धान्तका नाउँमा
घर र गाउँमा
आफन्त जुधाएर
एकअर्कालाई कुटाएर
टाउका फुटाएर
जनजन कजाई
माथतिर गरी रजाइँ
मिलिजुली राज गर्नेहरू
लाभका लागि काज सर्नेहरू ।
बाटो नभाँच
ईष्र्या नसाँध
साइनो नमास
आफन्त नकाट ।
भर छैन पटक्क माथिको
गर भर दौतरी साथीको
मर्दा पर्दा नछोड साथ
मिलिजिली गर कामकाज ।
अरूका कुरा सुनेर
गर्दै नगर लफडा
गर्दै नगर झगडा ।