अम्बिका भण्डारी बिहानी (२०३६, ढुकुरपोखरी, हाल अन्नपूर्ण २, कास्की, सुपुत्री : धर्मदत्त दाहाल र कलावती दाहाल) नेपाली साहित्य र सङ्गीतका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनका लोकछन्दका फूलहरू (२०६७ कविता), आफ्नो गाउँ आफ्नै हुन्छ (२०६८, खण्डकाव्य), तेस्रो पाइला (२०६९, कविता), शिलाजित (२०७५, मुक्तक), कृतिहरू प्रकाशित छन् । उनका विभिन्न फुटकर गीतिरचना उनकै स्वरमा प्रकाशन भएका छन् । आमाको सम्झना (२०६९), आऊ नाचौँ दिदी बहिनी (२०७०), खुसी राख्छौँ बाबा तिम्लाई (२०७१), नभइदे न मेरो मन दुःखी (२०७२), माइती देशै झलल (२०७३), हाम्रो माइती घर (२०७४), फूल फुल्यो (२०७५), आँखा आँखा छेकेर (२०७६), अपारा (२०७७), प्रवासमा चेली (२०७८), कलेजी चरर (२०७९) जस्ता गीतिएल्बमहरू प्रकाशित छन् । लोकलयलाई आधार मानेर गाउने भण्डारी सिर्जना र गायन दुवै क्षेत्रमा सक्रिय छन् । उनको लगाव साहित्यका साथै सङ्गीततिर बढी देखिन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘बिहानी खोज्दा खोज्दै’ शीर्षकको कविता रचना समेटिएको छ । यस रचनामा परिवर्तन जनपक्षीय बन्न नसकेको पक्ष उद्घाटित छ । -सम्पा. |
सुनौलो बिहानी खोज्दा खोज्दै
हजुरबुबाले भन्नुहुन्थ्यो
हजुरबुबाको प्राण गयो
सुनौला बिहानी खोज्दाखोज्दै
हजुर आमाले भन्नुहुन्थ्यो
हजुरआमाको पनि प्राण गयो ।
थुप्रै कुराहरू सुनेकी थिए बल्यकालमा
कपडा सिलाउने दमिनी भाउजूका व्यथा
आरनमा बस्ने कामी दाइका व्यथा
हलो जोत्ने हली दाइका व्यथा
गोठमा बस्ने गोठाले दाइका व्यथा
बालुवा चाल्ने कुल्लीहरूका व्यथा
भारी बोक्ने भरियाहरूका व्यथा
सोषित पीडितका ब्यथा
व्यथा सुन्दा सुन्दा
म विद्रोही बनेकी थिएँ
मलाई लाग्थ्यो
यो जगत्मा जमिनदार भन्ने मान्छेहरूको
मुटु केले बनेको हुन्छ होला ?
मनमनै भन्न मन लाग्थ्यो
किन त्यही दमाई दाइले सिलाएको कपडा बुनेको धागो चोखो हुन्छ ?
लुगा सिउने दमाई दाइ जुठो कसरी भयो ?
मलाई लाग्थ्यो
त्यही कामी दाइले कुँदेर बनाएको मूर्ति
मन्दिरमा पूजा हुन्छ
कसरी कामी दाइ जुठो भयो ?
भारी बोक्ने भरियाहरूको पसिनाले
साहुको जीवनमा उन्नति हुन्छ
किन भरियाको पसिनाले मूल्य पाउँदैन ?
किन किन किन ?
किन रुवाउँछन्
सञ्चा सीप भरेर
जीवन र जगत फुलाउने हातहरूलाई
किन पिडामा बाधिनुपर्छ ती हातहरूर्ला
यिनीहरू मान्छे भएर धर्तिमा आउनु पाप हो र ?
कता कता मनमा लागिरहन्थ्यो
समय हो आउँछ जान्छ
तर मान्छेमा चेत किन आउँदैन ?
सबै मानिस बराबर हुन् भन्ने बिचार किन आउदैन ?
यस्तै केही म सोचिरहन्थेँ
मनमा झिनो आशा भने थियो मुक्तिको
एकदिन यो जगत्लाई
मुक्ति दिलाएरै छाड्छु
एक दिन यो समयले अवश्य कोल्टे फेर्ने छ ।
अनगिन्ती विभेदका दृष्यहरूले
मेरो चेतनालाई विद्रोही बनायो
त्यही समयले मलाई क्रान्तिकारी बनायो
त्यही समयले मलाई जङगल पठायो
समाज परिवर्तनका लागि
शोषित पीडित निमुखाहरूका अधिकारका लागि
सजिलै परिवर्तन ल्याउन सकिने सम्भावना थिएन
त्यसैले त
बोक्दै गरेको झोला
खन्दै गरेको बउँसो
जोत्दै गरेको हलो
पोल्दै गरेको आरन
सिलाउदै गरेको भोटो
बोक्दै गरेको भारी
कुँद्दै गरेको मुर्ति
सोहोर्दै गरेको भकारो
चटक्कै छोडेर जङ्गल पसेको हुँ म महोदय ।
राष्ट्रको सुनौलो भविष्यको चित्र
हृदयमा कोरेर
म कसैलाई मार्नका लागि होइन
म त यी सुन्दर मान्छेहरूका
मनभित्रका काला बिचारहरू
मारेर मोति भर्नुपर्छ भन्ने बिचार बोकेको मान्छे हुँ म
तर मलाई त यी सुन्दर अनुहार भएका मान्छेहरूले
कालो देख्नुभयो
टाउँकोको मोल तोकिदिनुभयो
त्यसैले त गोली बारुद बनाउन बाध्यभए
मलाई मेरो ज्यानको आशा थिएन
मिठो नमिठोको कुनै रहर थिएन
आफू बाँच्नै पर्छ भन्ने पनि थिएन ।
आफू मरे पनि
देशमा रहेका मानिसहरू मानिस भएर बाँचुन्
यत्ति चाहिँ मनमा थियो ।
त्यसैले चाहनाले देशमा
मान्छे भएर बाँच्न पाउने अधिकार पाएका छौँ
स्वत्रन्त्र भएर बोल्न पाएका छौँ
अहिले थोरै भए पनि
सिपको कदर भएको छ
शिक्षाको बिकास भएको छ
अहिले यो युगले
सजिलै राष्ट्रको भविष्य कोर्न पाएको छ ।
ढिकुरपोखरी, कास्की