प्रह्लाद पोखरेल नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनका कविता काव्यका महत्वपूर्ण कृतिहरू प्रकाशित छन् । उनको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको संक्षिप्त परिचयसहित नुन शीर्षकको कविता समेटिएको छ । यस कविताले नुनका गुणबाट मानवीय गुण वा स्वभावलाई प्रतिविम्बन गरेको छ । -सम्पा. |
१
नूनजस्तै बनोस् मान्छे अद्वितीय चरित्रको
जसको गुणले पार्छ सुप्रभाव अपूर्वको !
उपस्थिति हुँदा छैन अनुभूति कतै पनि
अनुपस्थिति खड्किन्छ स्वादहीन सबै बनी !
२
विनानून हुने खल्लो, अलिनो स्वादहीन जो
हुँदा नून उही वस्तु कस्तो आस्वादको भयो !
काम लाग्ने बनोस् मान्छे यस्तै उच्च गुणात्मक
पवित्र भावनायुक्त चरित्र रचनात्मक !
३
सिकी लवणको धर्म आओस् घुलनशीलता
परोपकारी बानीको मिलोस् लगनशीलता
नबिझाओस् कतै किन्तु चर्को चारित्र्यहीनता
नबनोस् अलिनो, खल्लो कहीँ कर्मविहीनता !