दिव्यलक्ष्मी पोखरेल औपचारिक शिक्षाविनानै स्वअध्ययनबाट विशिष्ट छन्दकविता लेख्न सक्ने प्रतिभा हुन् । उनका कविता र काव्यका साथै बालसाहित्यका कृतिहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘काँडो’ शीर्षकको कविता समेटिएको छ । यस कविताले फूलको काँडालाई विम्ब बनाई फूलको रक्षाका लागि बाँच्ने काँडालाई दुष्ट काँडाका रूपमा बुझ्ने मानसिकताको विरोध गर्दै सीमान्तकृत आवाज उठाइएको छ । -सम्पा. |
म तीखो वनको काँडो धर्म मेरो तिखारिनु
कर्म मेरो बगैँचाका फूलमा पहरा दिनु
फक्रिऊन् बागमा फूल, फल पाकुन् म टिप्दिन
त्यै पनि तुच्छ यो काँडो भन्छ मानिसले किन ?
देख्दा वयस्क ती फूल, न झुम्छु रस रङ्गमा
न लोभी भमरो जस्तो , घुस्रन्छु पुष्प पत्रमा
चोट लाखौँ सहेँ दुःख देखाई रुन जानिन
त्यै पनि तुच्छ यो काँडो भन्छ मानिसले किन ?
उखेलुन् छिवलुन् फालुन् गरून् जे जे सहन्छु म
टुसाऊन् बिरुवा बाली रुग्न तत्पर बन्छु म
कर्म नै धर्म हो ठान्छु इमान बेच्न जान्दिन
त्यै पनि तुच्छ यो काँडो भन्छ मानिसले किन ?
म तिक्ष्ण बनिएँ के भो, के मेरो काम छैन र
पहरा नदिए मैले गुलाव रङ्ग भर्छ र ?
सुरक्षा फूलको गर्न खटिन्छु रात वा दिन
गुलाव फूल भो प्यारो, म हेला बनिएँ किन ?
न गर्छु रिस अर्काको, न गुनासो सुनाउँछु
म बारै ऋतुमा आफैभित्र मस्त रमाउँछु
मलाई नदिए घच्च , न छोए चस्स घोच्दिन
त्यै पनि तुच्छ यो काँडो भन्छ मानिसले किन ?
म आफ्नो स्वार्थका निम्ति अर्काको गाँस खोस्दिन
झोसपोल लगाएर कलको वीज रोप्दिन
म काँडो मैले नै तीक्ष्ण, बन्नु स्वाभाव हैन र
यो साझा धरती माथि मेरो अस्तित्व छैन र ?