केदार न्यौपानेको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी नेपाल प्रज्ञाप्रतिष्ठानबाट आयोजित कवितामहोत्सवमा मात्रै पाँच पटक पुरस्कृत प्रतिभा हुन् । उनले विभिन्न कविता र काव्य रचना गरेका छन् । प्रस्तुत शृङ्खलामा न्यौपानेको ‘व्युतने हुन्छ व्यार’ शीर्षकको कविता समेटिएको छ । यस कविताले टाढा रहने प्रेमीप्रेमिकाका समस्यालाई स्वप्न मिलनमा चित्त बुझाउनु पर्ने अवस्थाको चित्रण गरिएको छ ।
-सम्पा. |
उषाको उज्यालो प्रभाभित्र तिम्रो
लुकेको छ मुस्कान माधुर्य राम्रो
भनी नित्य निस्केर हेर्छु विहानी
बितेका अनेकौ रसिला कहानी
उदाएर आकाश ढाक्छन् समान
हुने कल्पना बिज बढ्दै तमाम
भएको हरियो रसिलो सुसृष्टि
अलंकार सद्भावको सौम्य दृष्टि
नयाँ सूर्यको सप्तरंगी प्रकाश
परी धर्तिमा फैलंदा एकसाथ
खुल्यो स्वच्छ सौन्दर्यको भव्य झांकी
छ तिम्रै नियाँस्रो भने हट्न बाँकी
प्रतिक्षा निकै दुर भो टुङ्गिएन
तिमी फर्कने योग केले मिलेन
बरु स्व्प्नमै भेट होस् बार बार
यसैमा संधै ब्युतने हुन्छ प्यार