मधुसूदन लामिछानेको परिचय साहित्यसागरका विभिन्न अङ्कमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनको हाम्रा बा’ शीर्षकको कविता रचनालाई समेटिएको छ । यस रचनाले बुबाको महत्व दर्शाएको छ ।
-सम्पा. |
माटोमा विरुवा रोप्ने पानी, मल मिलाउने
गर्मी भयो कि वा जाडो सदैव सुम्सुम्याउने
गरून् अक्षरको खेती सकून् बाला झुलाउन
स्वावलम्बी भई हाँसोस् मेरो बंशजको धन ।
भन्ने ध्यान दिई पढ्ने पाना सन्तानका सबै
गुरु, डाक्टर वा सेवी बनी हुर्काउने सधैँ
प्रशंसा जहिल्यै गर्ने हाँस्ने अनि हँसाउने
ज्युँदा द्यौता यिनै बाबा हुन् हाम्रै निम्ति लम्कने
रुनुहुन्छ बरु आफू चाहनुहुन्न र्वाउन
छोड्नुहुन्न कतै कैल्यै कर्मको गीत गाउन
खट्नुहुन्छ अहोरात्र स्वच्छ बस्ती बसाउन
भन्नुहुन्छ नहोस् माघ सक्छु वसन्त ल्याउन
ठान्नुहुन्छ सधैँ सानै छन् जम्मै युवा भएपनि
बाँड्नुहुन्छ खुसीसाथ मेरो प्रसाद हो भनी
ह्युँ परोस् वा झरी होओस् सन्तति घरबाहिर
हेर्नुहुन्छ सधैं बाटो गरी भित्र र बाहिर
भन्नुहुन्छ सधैं बाबा होओस् सद्गति सत्मति
दुखेमा चित्त बाबाको हुनथाल्छ अधोगति
अथाह प्रेमका पुञ्ज आदर्शका हिमालय
बाबा नै घरका द्यौता गरौँ श्रद्धा निरन्तर