पुस्पा खनाल (कार्तिक ८ , एकतप्पा ८, इलाम, सुपुत्री : दमन्ता खनाल र अम्बिकाप्रसाद खनाल) नेपाली साहित्यमा सिर्जना र सङ्गठनका माध्यमबाट समर्पित प्रतिभा हुन् । उनका प्रतिष्ठा, गीति एल्बम (संयुक्त २०६९), अभिनव (गीति एल्बम एकल, २०७३), पोखिएँ यसरी (गीत तथा कविताको सङ्गालो, २०६९), गह पोखिएर (गीतसङ्ग्रह, २०७६) जस्ता कृतिहरू प्रकाशित छन् । यी प्रकाशनका साथै विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा थुप्रै गीत, कविता र कथाहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘समय, सपना र उडान’ कविता समेटिएको छ । यस कविताले मानव जीवनको यथार्थ र जीवनप्रवाहलाई समेटेको छ । -सम्पा. |
म एकाबिहानै उठ्छु
क्षयरोगले गलेको बाबुको शरीर
मुटुरोगी आमाको ओछ्यान
कति दिन नियाल्नू!
सपनामा देखेको मेरो कलिलो भविष्य
जिल्ला प्रशासनको गेट
हरियो राहदानी
बाबुको विर्ता
साहूको बन्दकी
सपना
उडान
पैसा फल्ने देश ।
श्रीमतीको बुच्चिएको कान
छोरोको फाटेको स्कुलको झोला
मेरो घरको उध्रेको छानो
सबै बस्छ हरियो राहदानीमा ।
मेनपावरको
चौडा छातीले तोकेको
मेरो गाउँको साहूको भन्दा चर्को साहुँ
नामसारी गरेर दैलोको ठेलो
फेरि फर्किएर एक नजर
त्यो बलेसीँ चुहिँदो आमाको परेली
दुई औँलाले छर्केर
नयनको गङ्गा उनैतिर
पाइला उचालिएको
परदेसिनलाई
र अहिले ठीक
१२ बजेको छ
मेरो समय र उनको घडीमा ।
म,
वन्दकी सपनाको उडान गर्नै लागेको छु
वैशाखको गर्मीको शितल ताप्न
बालुवामा पानी खोज्दै
र हिँडेको छु
समय र सपनालाई
साथै बोकेर ।
आमा !
तिम्रो आँत सुकेपनि
मेरो पसिनाले सिञ्चिनू
म परदेसिएको छोरो
म जस्तै मिनेट, सेकेण्ड, पल
सबै उस्तै छौँ अहिले
घरबाट निस्किँदा
एक्लो थिएँ
यहाँ म जस्तैको संसार छ ।
उफ्, मेरो देश !
मेरै पसिना बेचेर
विप्रेषणले पालिएको
मलाई अर्को वर्ष घर फर्कदाँमात्र
थाहा हुनेछ
किनकी,
मेरो देश
म जस्तै युवा बेचेर
समृद्धिको बाटोमा लम्किरहेछ ।