विधान आचार्य (२०१६, वैशाख १२ चुँदी सम्घा तनहुँ, सुपुत्र : विश्वराज आचार्य र सुभद्रादेवी आचार्य) प्राध्यापनका साथै साहित्य सेवामा समर्पित प्रतिभा हुन् । २०३१ सालमा ‘अनौठो चिनाजानी’ शीर्षकको कथा गुराँस पत्रिकामा प्रकाशन गरी साहित्य क्षेत्रमा सार्वजनिक भएका आचार्यका गोरुको काँध (२०४२), पहाड उक्लेर पहाड ओर्लेर (२०६२) जस्ता कविता कृति प्रकाशित छन् । आचार्यले आफ्नो विशेषज्ञताअनुसार त्रि.विका शैक्षिक कार्यक्रमको सङ्क्षिप्त परिचय (२०४३), शैक्षिक कार्यक्रमको एक झलक (२०४१), मध्यमाञ्चल विकास क्षेत्रमा उच्चशिक्षा (२०४३) जस्ता कृति प्रकाशन गरेका छन् । उनको कलम कविता र लघुकथाका क्षेत्रमा बढी सक्रिय देखिन्छ भने विभिन्न संस्थाको विकासमा पनि विशिष्ट योगदान रहेको छ । आचार्यले केही नाटक रचना, टेलिफिल्मका कथा, पटकथा र गीत रचनाका साथै अभिनय पनि गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा आचार्यको ‘लाउके’ शीर्षकको कविता समेटिएको छ । यस कविताले राजनीतिक विसङ्गतिको पर्दाफास गरेको छ । -सम्पा. |
उसको काम नहुन्जेल
हजार बिन्ती गर्छ
काम सकिएपछि
ज्याला दिनुपर्ला भनेर
हजार कोस टाढा भाग्छ
हजार थरी खोट निकाल्छ ।
*
कति दिन चल्दो हो यसरी
सास नफेरी, लुकेर हिडी
ए मान्छे बरु भन न
मलाई यति सित्तै गरिदेऊ
म उबारेर मेरा जहानलाई
गाँस कमाउने समय
तिमीलाई दिऊँला !!