कृष्णशरण उपाध्याय (कास्की) नेपाली साहित्यमा पछिल्लो समय निकै हस्तक्षेपकारी ढङ्गले लागिरहेका छन् । उनका श्रीशिव शतक, अनुरोध, अवधूत, रक्ताश्रु, पल्लव, अनेक प्रश्न र वन्दना छन्दकविताका संग्रहहरू हुन्। उनका यी कृतिमाा शताधिक रचनाहरू समावेश भएका छन्। “श्रीशिव शतक” मा भक्ति, ज्ञान र वैराग्यतर्फ उन्मुख बनी शिवस्तुति गरिएको छ भने अनुरोध कृतिमा देशका सबै नागरिकहरूलाई आफ्नै देशको सर्वाङ्गीण विकासमा लाग्न अनुरोध गरिएको छ । उनको पल्लव कवितासङ्ग्रह विद्यार्थी भाइबहिनीसँग सम्बन्धित छ । अवधूत, वन्दना, रक्ताश्रु, अनेक प्रश्न जस्ता सबै कृतिहरूमा देशका सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, धार्मिक, प्राकृतिक आदि विविध विषयमा देखिएका विकृतिहरूमाथि व्यङ्ग्य गर्दै सुधारका लागि आह्वान गरिएको छ । उनी अहिले पनि निरन्तर कविता सिर्जना गरिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘डल्ला कडा फोर्नुछ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले विभिन्न सन्दर्भ समेट्तै देशभक्तिको भावना अभिव्यक्त गरेको छ । |
आफ्नै अब्बल प्वाँखले प्रगतिको , आकाश मा उड्नुछ
आफ्नै उत्तम पाउले शिखरको , गन्तव्य म चढ्नु छ
अर्कै क मति – बुद्धि बाट कसरी होला त आफ्नो भलो ?
अर्कै को श्रम – सोच नक्कल गरी,चल्ला त आफ्नो हलो ?
आफ्नै धर्म – धरातलीय – धुनको , सङ्गीत गाई हिँडौ
आफ्नै संस्कृति को महा क्षितिज मा , आँखा लगाई भिडौँ
बैसाखी अरू को भिरेर कसरी , चढ्ने महा – पर्वत ?
अर्कै को भर मा परेर कसरी , लड्ने महाभारत ?
अन्तश्चक्षु खुलाउँदै सृजनका , रेखा नयाँ कोर्नुछ
नौला सोच बढाउँदै विकृतिका , डल्ला कडा फोर्नुछ
आफ्नै ताल र चालबाट हिँडिए , टेक्दैन को लक्ष्य र ?
आफ्नै छन्द र छाँटबाट बढिए , चढ्दैन को कक्ष र ?
हावा उत्तरबाट चल्छ कहिले , कोही नहल्लोस् यहाँ
हावा दक्षिणबाट चल्छ कहिले , कोही नहल्लोस् यहाँ
आफ्ना मूल जराहरू दृढ गरौँ , राष्ट्राभिमानी बनौँ
हावा पश्चिम बाट चल्छ कहिले , कोही नहल्लोस् यहाँ .
खम्बा जत्ति पुरानिए अब नयाँ , गाडी ठड्याऔँ घर
फेरौँ डाँड – बला धुरी सँग – सँगै , जे छन् यहाँ जर्जर
खोलौँ झ्याल र द्वार उन्नति हुने , सम्भावना का जति
हामी अब्बल भैदियौँ यदि भने , को गर्छ हाम्रो क्षति ?
(शार्दूलविक्रीडित छन्द)