धर्म पोखरेल युवापुस्ताका लेखक हुन् । उनी मूलतः कविता र समीक्षाका क्षेत्रमा देखापरिरहेका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको देवकोटालाई विषय र विम्ब बनाइएको देवकोटाप्रति’ शीर्षकको कविता समेटिएको छ । -सम्पा. |
लक्ष्मीका कति छन् प्रसाद तर को छन् देवकोटासरि ?
यो साहित्य सबै विकास हुनमा देखेँ उनैको छवि
लक्ष्मी नाम, सरस्वती प्रिय यिनी हुन् काव्यका नायक
भाषा, भाव, कला समन्वय उनी साहित्य उन्नायक ।
फुर्थे भाव अजस्र तीव्र बिजुलीभन्दा छिटो सर्सरी
लेख्थे काव्य सरर्र सर्र मनमा चल्थ्यो सदा हुन्डरी
नौलो शिल्प र पश्चिमीपन दिने स्वच्छन्द चङ्गा उनी
भाषाका अनमोल रत्न ढुकुटी हुन् श्वेत गङ्गा उनी ।
देखे हुन् कतिले त पागल उनी देख्दै रहुन् पागल
लेखे हुन् कतिले त पागल भनी लेख्दै रहुन् पागल
लेखे काव्य प्रशस्त हिम्मत गरी स्रस्टा अनौठा उनी
देखाए कविमार्ग प्रस्ट उनले द्र्ष्टा सबैका उनी ।
बत्ती बल्छ झलल्ल एक र अरू बाल्ने छ बत्तीहरू
त्यस्तै झल्ल बले, उनी अनि हिँडे त्यै मार्ग पक्री अरू
बल्दो दीप उनी अरू धिपधिपे बत्तीहरू हुन बुझेँ
श्रद्धाभाव भएर तन्मय बनी सम्झेर फोटो पुजेँ ।