सीता भट्टराई नेपाली साहितयमा निरन्तर कलम चलाइरहेकी विशिष्ट नारी प्रतिभा हुन् । उनले नेपाली विषयमै उच्च शिक्षा लिएर साहित्यकर्ममा आफूलाई समर्पित गरेकी छन् । उनका कवितादेखि महाकाव्यसम्मका कृतिहरू प्रकाशित छन् । यहाँ उनको देवकोटालाई विषय र विम्ब बनाएको देवकोटाको प्रेरणा’ शीर्षकको कविता समेटिएको छ ।
-सम्पा. |
तिम्रा अन्तर भाव शब्द कणिका भेटेर उद्यानमा
तिम्रा ज्ञान छटा र सुन्दर कला पाएर बोल्छौँ यहाँ
यौटा स्वर्ग थियो जहाँ अमरता ॐकारमा हाँस्दथ्यो
अर्को स्वर्ग थियो जहाँ अमरता शब्दादिमा नाँच्दथ्यो
तिम्रा भाव थिए उडेर गतिमा आकाश नै चुम्दथे
तिम्रा काव्य कला बनेर छहरा झर्नासँगै बोल्दथे
नेपाली मनका कला कुसुममा उद्यानमा फुल्दथे
यो धर्ती घरको सफा जमिनमा ऊर्जा दिँदै हाँस्दथे
माटोको ममता तथा मनुजता भर्थ्यौ तिमी काव्यमा
पानीको जलबिन्दु निश्चल हुने झर्ना बनी सृष्टिमा
पुग्दै उच्च हिमाल गौरव बनी श्रीबिन्दुमा नाँच्दथ्यौ
पुग्दै विश्व विराट काव्य गरिमा संसारमा छर्दथ्यौ
खुल्थे बिम्ब कतै कतै प्रकृतिमा झङ्कारमा बज्दथ्यौ
उड्थे आँचल ती सदा प्रकृतिमा सत्वागमा खुल्दथ्यौ
नाँच्थ्यौ फर्फर फर्र शब्द गतिमा भावादिमा बग्दथ्यौ
साच्चै सुन्दर सृष्टिको प्रगति हौ काव्यादिमा रम्दथ्यौ
सम्झेँ झट्ट निनाद नाद मनले हुन् देवकोटा मणि !
नेपाली कवि काव्यका शिखरमा बस्छौ तिमी के भनी ?
यस्ता नाम र कामको रसकला खुल्दा यहाँ मख्छ छु
केही शब्द र भाव अर्पण गरेँ ! सत्प्रेरणा मान्दछु !