चन्द्र भण्डारी नेपाली साहित्य र सञ्चारका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनले राजनीतिसापपेक्ष र निरपेक्ष ढंगले समाजसेवाका बहुमुखी पक्षमा काम गर्दै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘शारदीय पर्व’ शीर्षकको कविता समेटिएको छ । यस कविताले दशैँ पर्वसँगै शारदीय प्रकृतिको चित्रण गरेको छ । |
शारदीय मौषम छ
ऋतुले गति छाडेको छैन
सयपत्री ढकमक्क छन्
जङ्गल हरिया छन्
फलफूल सँगै धान बाली झपक्क छन्
नदी नाला सुसाउँदै बगिरहेछन्
बेला बखत आकाश धुम्म भए पनि
बर्षाले अभिषेक गरिरहे पनि
प्यारो दशैं !
तिमी बिजयको माला पहिरिएर
हाम्रो घर आँगनीमा प्रवेश गरिसक्यौ
तिमीलाई न्यानो स्वागत छ ।
अचेल पाखा भित्तामा चिउरे ढिकी कुर्लँदैनन्
रातो माटो र कमेरो कसैले प्रयोग गर्दैनन्
बालीघरे लाबर बाबै कल बोकेर घर घर चाहार्दैनन्
लिङ्गेपिङ कतै कतै मच्चिए पनि
काठे रोटेपिङ्ग कतै ठडिंदैनन्
अचेल नया लुगाको बास्ना आउन छाडेको छ
न त केराका काइंया नै मग्मगाउँछन्
स्टिलको मगमा पाउडरको दही जमाउनेहरूका घरमा
दशैं केवल औपचारिक हुन पुगेको छ
छोरा छोरी बिदेशमा रगत पसिना र आँसू बगाउन बाध्य यो बेला
प्रिय दशैं !
फेरि पनि तिमीलाई न्यानो स्वागत छ ।