चन्द्र भण्डारी नेपाली सञ्चार र साहित्यका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनी मोफसलमा रहेर सिर्जना र सञ्चार कर्मका साथै बहुमुखी ढङ्गले सामाजिक काम गरिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको दशैँसम्बन्धी कविता समेटिएको छ ।
-सम्पा. |
शारदीय मौसम छ
ऋतुले गति छाडेको छैन
सयपत्री ढकमक्क छन्
जङ्गल हरिया छन्
फलफूलसँगै धानबाली झपक्क छन्
नदी नाला सुसाउँदै बगिरहेछन्
बेला बखत आकाश धुम्म भए पनि
बर्षाले अभिषेक गरिरहे पनि
प्यारो दशैं !
तिमी बिजयको माला पहिरिएर
हाम्रो घर आँगनीमा प्रवेश गरिसक्यौ
तिमीलाई न्यानो स्वागत छ ।
अचेल पाखा भित्तामा
चिउरे ढिकी कुर्लँदैनन्
रातो माटो र कमेरो
कसैले प्रयोग गर्दैनन्
बालीघरे लाबर बाबै
कल बोकेर घर घर चाहार्दैनन्
लिङ्गेपिङ कतै कतै मच्चिए पनि
काठे रोटेपिङ्ग कतै ठडिंदैनन्
अचेल नयाँ लुगाको वासना आउन छाडेको छ
न त केराका काइँया नै मग्मगाउँछन्
स्टिलको मगमा
पाउडरको दही जमाउनेहरूका घरमा
दशैँ केवल औपचारिक हुन पुगेको छ
छोरा छोरी बिदेशमा
रगत पसिना र आँसू बगाउन बाध्य यो बेला
प्रिय दशैं !
फेरि पनि तिमीलाई न्यानो स्वागत छ ।